चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामाग्री बरामद गरिंदै
काठमाडौं,२२ असोज । थुलुङ दुधकोशी गाउँपालिका वडा नं. २ मा सञ्चालित विभिन्न पसल तथा होटलहरूमा बजार अनुगमन गरिएको छ।

चाडपर्व नजिकिएसँगै गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको हो। आज आन्तरिक लेखा परीक्षक भेषराज कार्कीको नेतृत्वमा खटिएको टोलीले वडा नं. २ का विभिन्न पसल तथा होटलहरूमा अनुगमन गर्दा करिब रु. १६ हजार ७ सय ५६ बराबरका अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरू बरामद गरी तत्काल नष्ट गरेको छ।
चाडपर्वका समयमा उपभोक्ताको स्वास्थ्य र अधिकारलाई मध्यनजर गर्दै गाउँपालिकाले बजारमा हुने कालोबजारी, म्याद गुज्रिएका तथा अखाद्य वस्तुको बिक्री–वितरण नियन्त्रण गर्न नियमित अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाले जनाएको छ ।




