सोलुखुम्बुमा कुटपिटबाट एक जनाको मृत्यु, चार जना पक्राउ
सोलुखुम्बु,७ मंसिर । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ बाबर्खामा कुटपिटबाट ३५ वर्षीय अम्बर राईको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

गत मङ्सिर ५ गते राति करिब ११ः३० बजे राईमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी घटनाको कारण र पक्राउ परेकाहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


