हिञ्चोक भैरवलाई बहुआयामिक क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड
भक्तपुर,२८ कार्तिक । नेपालकै पहिलो एउटै ढुङ्गाबाट निर्मित १६ फिट अग्लो हनुमानको मूर्ति रहेको भक्तपुर जिल्लाको सुर्यविनायक-४ स्थित मल्लकालीन हिञ्चोक भैरव मन्दिरको कलात्मक प्रवेशद्वार र मन्दिर प्राङ्गणभित्र तेली इटा बिछ्याउने कार्य सम्पन्न भएको छ । उक्त कार्य सुर्यविनायक नगरपालिकाको विनियोजित बजेटबाट हिञ्चोक भैरव सुधार एवं संरक्षण संस्थाले सम्पन्न गरेको हो । हिञ्चोक भैरवस्थान धार्मिक पर्यटक र विभिन्न शुभ कार्यका लागि उपयुक्त रहेको छ ।

कलात्मक प्रवेशद्वारको समुदघाटन कार्यक्रममा सुर्यविनायक नगरपालिकाका प्रमुख वाशुदेव थापाले ४ नम्बर वडा सुर्यविनायक नगरपालिकाको केन्द्रविन्दु भएकाले ऐतिहासिक मल्लकालीन हिञ्चोक भैरवस्थानको संरक्षण र सम्बर्द्धनमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए भने उप-प्रमुख सरिता तिम्सिना भट्टराईले संस्कृति, मौलिकता र धार्मिक पर्यटनका लागि हिञ्चोक भैरवस्थानलाई बहुआयामिक क्षेत्रको रुपमा विकास गर्न सबैले आ-आफ्नो तर्फबाट योगदान पुर्याउनुपर्ने बताइन् ।
सुर्यविनायक नगरपालिका वडा नम्बर ४ का पूर्वअध्यक्ष उत्तम थापा, वडा सदस्य विदुर खड्का, हिञ्चोक भैरव सुधार एवं संरक्षण संस्थाका अध्यक्ष वाशुदेव बस्नेत, उपाध्यक्ष जगन्नाथ अधिकारीलगायतका वक्ताहरुले एउटै ढुङ्गाबाट निर्मित हनुमानको १६ फिटको मूर्ति हिञ्चोक भैरवस्थानको थप आकर्षण भएकाले उक्त स्थानलाई धार्मिक पर्यटनलगायतको बहुआयामिक आस्थाको केन्द्र बनाउन आफुहरु लागिपरेकाले सबै क्षेत्रबाट यो मल्लकालीन ऐतिहासिक स्थलको विकासका लागि साथ र सहयोगको अपेक्षा गरेका थिए ।
सुर्यविनायक-४ दधिकोट निवासी वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटाका अनुसार धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक मल्लकालीन हिञ्चोक भैरवस्थान धार्मिक पर्यटकका लागिमात्र होइन, नेपाल घुम्न आउने हरेक पर्यटकका लागि संस्कृति, मौलिकता र धार्मिकताका दृष्टिले उपयुक्त गन्तव्य स्थल बन्नसक्छ । यसका लागि स्थानीयमात्र होइन, राष्ट्रियस्तरबाटै प्रचार-प्रसार, विकास-विस्तार र संरक्षणका लागि ध्यान पुर्याउनु जरुरी छ ।


