मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत



जनकपुरधाम,२८ कात्तिक । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गर्नुभएको राजीनामा स्वीकृत गरिएको हो ।
मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत नपाउने अवस्था बनेपछि आजै पदबाट राजीनामा दिएका थिए।अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी छ।

त्यसैगरी, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते समर्थन फिर्ता लिएपछि सरकार संकटमा परेको थियो। त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्