कवि मुक्तिनाथ साहित्य सम्मान, छात्रवृत्ति वितरण तथा आशु कविता सिर्जना प्रतियोगिता सम्पन्न
सुबास भण्डारी, सोलुखुम्बु,२८ कार्तिक । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा सोलुखुम्बु इनिसिएटिभद्वारा आयोजित ‘कवि मुक्तिनाथ साहित्य सम्मान तथा छात्रवृत्ति वितरण एवं आशुकविता सिर्जना प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ ।

साहित्यिक प्रतिभाको सम्मान,विद्यार्थीलाई शैक्षिक प्रोत्साहन तथा सिर्जनात्मक क्षमताको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दुई जना साहित्यकारलाई सम्मान गर्नुका साथै पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको सोलुखुम्बु इनिसिएटिभले जनाएको छ ।
रोहितप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशसभा सदस्य एवं कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी प्रमुख अतिथि रहनुभएको थियो । नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष विना राई र साहित्यकार हरि कटेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपाली साहित्यमा पुर्याएको योगदानको कदर गर्दै नेचासल्यान गाउँपालिका–४ निवासी साहित्यकार हरि कटेल र नेचासल्यान–२ निवासी डा. मुलिविर राईलाई सम्मान गरिएको थियो । उहाँहरूलाई दोसल्ला,सम्मानपत्र र जनही आठ हजार ८४८ रुपैयाँ नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
यसैगरी, नेपाल आईडी शैक्षिक छात्रवृत्ति–२०८३ अन्तर्गत पाँच जना विद्यार्थीलाई जनही आठ हजार ८४८ रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ । छात्रवृत्ति प्राप्त गर्नेमा केदार माध्यमिक विद्यालय, नेचासल्यानका निशा नेपाली र गीता भण्डारी, छेस्काम माध्यमिक विद्यालय, महाकुलुङकी अस्मिता कुलुङ, वीरेन्द्रज्योति माध्यमिक विद्यालय, सोताङकी अनिसा कुलुङ तथा गार्मा माध्यमिक विद्यालय रहेका छन् ।
कार्यक्रमकै अवसरमा आयोजित आशुकविता सिर्जना प्रतियोगितामा सञ्जिव भण्डारी प्रथम, दिप्सन बास्तोला द्वितीय, कुलबहादुर नेपाली तृतीय र निशा नेपाली सान्त्वना भएका छन् ।
कार्यक्रममा अतिथिहरूले साहित्यको सामाजिक तथा सांस्कृतिक महत्व, स्रष्टाको सम्मान र शिक्षाको विकासमा यस्ता कार्यक्रमले पुर्याउने योगदानबारे धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए । अमेरिकामा रहनुभएका डा. थोमस बास्तोलाले पनि कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना सन्देश पठाउनुभएको थियो ।
कार्यक्रममा बालकुमार जमरकट्टेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने टंक दाहालले सहजीकरण गर्नुभएको थियो ।
साहित्यको संरक्षण र प्रवर्द्धन, स्रष्टाको सम्मान तथा विद्यार्थीको शैक्षिक विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले स्थानीय तहमा साहित्यिक गतिविधि विस्तार गर्नुका साथै नयाँ पुस्तामा सिर्जनात्मक चेतना र अध्ययनप्रतिको रुचि अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।


