ओखलढुंगामा बोलेरो जीप ३५ मिटर तल खस्यो, नौ जना घाइते
काठमाडौं,७ मंसिर । ओखलढुंगामा जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सोमबार (मंसिर ७) बिहान करिब ७ः१५ बजे सिद्धिचरण नगरपालिका–२, खनेखर्कस्थित निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

निशंखेबाट सिद्धिचरण–८, लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेका दर्शनार्थी सवार प्रदेश १–०७–००१ ज ०००५ नम्बरको जीप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका निम्ति सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा सबै सिद्धिचरण–२ का स्थानीय छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


