भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट ४९९ किलो गाँजा बरामद
काठमाडौं,६ मंसिर । सुनसरीको धरानमा प्रहरीले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट ४९९ किलो गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा प्रयोग भएको आशङ्कामा प्रहरीले गाडीसहित चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार धरान उपमहानगरपालिका ८ स्थित सेउती पुलमा सवारीसाधन जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको छ ।
गएराति इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरान सहित अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियो गाडीमा गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाडी चालक मोरङको विराटनगर महानगरपालिका १३ का ३२ वर्षीय अजयकुमार साहलाई पक्राउ गरेको जनाएको छ । बरामद गरिएको गाँजाको तौल चार सय ९९ किलो रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका साह, बरामद गाँजा र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


