भारत भ्रमणका क्रममा नेपालको माटो र स्वाभिमान नबिर्सन प्रधानमन्त्रीलाई नवल खड्काको आग्रह



काठमाडौं,३ असोज । नायक, चलचित्र निर्माता तथा राष्ट्रिय अभियानकर्मी नवल खड्काले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको सवाललाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

‘भारतसँग हात मिलाउँदा नेपालको माटो र राष्ट्रिय स्वाभिमान नबिर्सनुहोस्’ भन्दै खड्काले प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक भेटघाट र शिष्टाचारमा मात्र सीमित नभई सीमा विवाद समाधान, अतिक्रमित भूमि फिर्ता तथा सीमा सुरक्षाका विषयमा ठोस कूटनीतिक उपलब्धि हासिल गर्ने अवसर बन्नुपर्ने बताएका हुन्।

नेपाल र भारतबीच ऐतिहासिक, भौगोलिक, सांस्कृतिक तथा जनस्तरको निकट सम्बन्ध रहे पनि नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताभन्दा माथि कुनै सम्बन्ध हुन नसक्ने उनको भनाइ छ। उनले दुई देशबीचको सम्बन्ध समानता, पारस्परिक सम्मान र एकअर्काको राष्ट्रिय अस्तित्वको सम्मानमा आधारित हुनुपर्नेमा जोड दिएका छन्।

खड्काले प्रधानमन्त्रीसमक्ष सातबुँदे सुझावसमेत प्रस्तुत गरेका छन्। उनका प्रमुख मागमा कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका सीमा विवाद ऐतिहासिक प्रमाण तथा तथ्यका आधारमा समाधान गरी अतिक्रमित भूमि फिर्ताको प्रक्रिया अघि बढाउनुपर्ने विषय समेटिएका छन्।

त्यस्तै, नेपाल–भारत खुला सीमाको संवेदनशीलतालाई ध्यानमा राख्दै सीमा क्षेत्रमा नेपाली सुरक्षा निकायको प्रभावकारी उपस्थिति, सीसीटीभी निगरानी, आधुनिक सुरक्षा प्रविधि, नियमित गस्ती तथा आवश्यक स्थानमा व्यवस्थित सुरक्षा संरचना निर्माण गर्नुपर्ने उनले बताएका छन्।

सीमा विवादलाई अन्तर्राष्ट्रिय कानुन र स्थापित कूटनीतिक प्रक्रियामार्फत समाधान गर्नुपर्ने उल्लेख गर्दै उनले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने र त्यसका सुझाव कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

सीमाक्षेत्रमा नेपाली नागरिकमाथि हुने कुटपिट, दुर्व्यवहार, गैरकानुनी गिरफ्तारी तथा शान्तिपूर्ण प्रदर्शनमाथिको दमन रोक्न सरकारले स्पष्ट कूटनीतिक अडान लिनुपर्ने उनको माग छ। यस्ता घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही सुनिश्चित गर्नुपर्ने उनले बताएका छन्।

यसैगरी, १८ वर्ष उमेर पूरा गरेका इच्छुक युवालाई स्वैच्छिक सैनिक तथा राष्ट्रिय सुरक्षा तालिमको व्यवस्था गर्नुपर्ने उनको अर्को प्रस्ताव छ। राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको संरक्षणमा नयाँ पुस्तालाई सचेत, अनुशासित र जिम्मेवार बनाउनुपर्ने खड्काको भनाइ छ।

उनले प्रधानमन्त्री स्वयं सीमाक्षेत्रमा पुगेर त्यहाँका नागरिकको अवस्था, समस्या र पीडा प्रत्यक्ष बुझ्नुपर्ने सुझावसमेत दिएका छन्। विवादित सीमाक्षेत्रमा पुगेर कम्तीमा एक रात बिताउँदा सरकारको सीमा सुरक्षाप्रतिको प्रतिबद्धता स्पष्ट हुने उनको धारणा छ।

‘मेरो दुई दशकदेखिको अभियान एउटै हो—माटो र मान्छे जोगाउने अभियान,’ खड्काले भनेका छन्। चलचित्र, साहित्य, सार्वजनिक अभियान तथा सामाजिक गतिविधिमार्फत राष्ट्रिय स्वाभिमान, सीमा सुरक्षा र देशभक्तिको विषय उठाउँदै आएको उल्लेख गर्दै उनले आफ्नो अभियान कुनै व्यक्ति, राजनीतिक दल वा सरकारविरुद्ध नभई नेपालको भौगोलिक अखण्डता र नेपाली जनताको सम्मानका पक्षमा केन्द्रित रहेको स्पष्ट पारेका छन्।

नेपालले छिमेकी भारतसँग भक्तिभाव नभई समानता र पारस्परिक सम्मानका आधारमा सम्बन्ध राख्नुपर्ने उनको धारणा छ। मित्रता र सहकार्य आवश्यक भए पनि राष्ट्रिय स्वाधीनतामाथि सम्झौता स्वीकार्य नहुने उनले बताएका छन्।

‘सरकारलाई हाम्रो साथ र समर्थन छ, तर त्यो साथ राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने अडानमा आधारित छ,’ खड्काले उल्लेख गरेका छन्।

भक्ति थापा, अमरसिंह थापा र बलभद्र कुँवरको वीरताको इतिहास स्मरण गर्दै उनले नेपालको माटो, सीमा र राष्ट्रिय अस्तित्वमाथि कुनै पनि प्रकारको हस्तक्षेप हुँदा नेपाली नागरिक मौन बस्न नसक्ने बताएका छन्।

खड्काले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित, सीमा सुरक्षा र कूटनीतिक सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने अवसरका रूपमा उपयोग गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्