सोलुखुम्बुमा मुक्तिनाथ साहित्य सम्मान, आशु कविता प्रतियोगिता र शैक्षिक छात्रवृत्ति वितरण हुँदै
सोलुखुम्बु,२१ कार्तिक । सोलुखुम्बु जिल्लाको साहित्यिक विरासतको संरक्षण, नयाँ साहित्यिक प्रतिभाको प्रोत्साहन तथा उच्च शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले सोलुखुम्बु इनिसिएटिभले मुक्तिनाथ साहित्य सम्मान–२०८३, आशुकविता सिर्जना प्रतियोगिता तथा नेपाल आईडी शैक्षिक छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गर्ने भएको छ।

इनिसिएटिभले आगामी कार्तिक २८ गते शनिबार नेचासल्यान गाउँपालिका–४ स्थित चेतना विस्तार सार्वजनिक पुस्तकालयको सभाहलमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रमअन्तर्गत सोलुखुम्बु जिल्लाका प्रथम कवि स्वर्गीय मुक्तिनाथ कट्टेलको स्मृतिमा स्थापित मुक्तिनाथ साहित्य सम्मान–२०८३ दुई जना साहित्यकारलाई प्रदान गरिने भएको छ। यस वर्ष साहित्यकार डा. मुलीवीर राई र हरि कट्टेललाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको सोलुखुम्बु इनिसिएटिभका अध्यक्ष रोहित प्रसाद बास्तोलाले जानकारी दिए ।
सम्मानित दुवै स्रष्टालाई जनही ८ हजार ८४८ रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिनेछ।
जिल्लाको साहित्यिक इतिहासको संरक्षण, साहित्यिक सिर्जनाको प्रवर्द्धन तथा साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको मुक्तिनाथ साहित्य सम्मान गत वर्षदेखि प्रदान गर्न थालिएको हो। यस सम्मानको पहिलो संस्करण मुक्तिनाथ साहित्य सम्मान–२०८२ साहित्यकार डा. रेणुका सोलुलाई प्रदान गरिएको थियो।
त्यसैगरी, नयाँ साहित्यिक प्रतिभाको पहिचान र सिर्जनशीलताको विकास गर्ने उद्देश्यले कार्यक्रमस्थलमै आशुकविता सिर्जना प्रतियोगिता सञ्चालन गरिने बास्तोलाको भनाई छ। प्रतियोगीहरूलाई कार्यक्रमस्थलमै कविताको शीर्षक उपलब्ध गराइने र निर्धारित समयभित्र सोही शीर्षकमा कविता सिर्जना गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, द्वितीय हुनेलाई ४ हजार र तृतीय हुनेलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, तीन जना सहभागीलाई जनही १ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी सबैलाई सहभागिताको प्रमाणपत्रसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
यसैबीच, जिल्लाबाट माध्यमिक तह अर्थात् कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले सुरु गरिएको नेपाल आईडी शैक्षिक छात्रवृत्ति कार्यक्रमअन्तर्गत पाँच जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ।
निर्धारित योग्यता पूरा गरी प्राप्त आवेदनहरूको मूल्याङ्कनका आधारमा छनोट भएका पाँच जना विद्यार्थीलाई जनही ८ हजार ८४८ रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिनेछ। आर्थिक तथा शैक्षिक प्रोत्साहन आवश्यक भएका प्रतिभाशाली विद्यार्थीलाई उच्च शिक्षामा अघि बढ्न सहयोग पुर्याउने लक्ष्यका साथ छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री माननीय बुद्धि राजभण्डारी प्रमुख अतिथि तथा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार कार्तिक २८ गते बिहान ११ बजेदेखि आशुकविता सिर्जना प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहनेले सोही दिन बिहान १० बजेभित्र नाम दर्ता गराइसक्नुपर्नेछ।
दिउँसो २ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा स्रष्टाहरूबाट कविता वाचन, आशुकविता प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण, नेपाल आईडी शैक्षिक छात्रवृत्ति वितरण तथा मुक्तिनाथ साहित्य सम्मान–२०८३ प्रदान गरिनेछ। साथै अतिथिहरूको सम्बोधनपछि कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ।
सोलुखुम्बुको साहित्यिक इतिहास र सिर्जनशीलतालाई नयाँ पुस्तासँग जोड्दै शैक्षिक विकासमा समेत योगदान पुर्याउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले साहित्य, शिक्षा र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


