सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्दार



अधिक रक्तश्रावका कारण सिकिस्त बिरामी हुनुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्दार गरेर थप उपचारका लागि काठमाडौँ पठाइएको छ । वर्थिङ सेन्टर (प्रसुति गृह)मा जुम्ल्याहा बच्चालाई जन्म दिनुभएकी वडा नम्बर–५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई  हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौँ पठाइएको हो ।

महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । शनिबार जुम्ल्यहा बच्चालाई जन्म दिनुभएकी रेनुकाको अधिक रक्तश्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकोप्टर झिकाएर उद्दार गरिएको हो ।

उद्दार गरिएकी रेनुकाको काठमाडौँको थापाथलीस्थित प्रसुति गृहमा उपचार शुरु भएको आफन्तले बताएका छन् । सकुशल जन्मिएका दुई बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्दार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएपछि यसअघि बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राईलाई गत असार ४ गते ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत उद्वार गरिएको थियो । यस्तै, अधिक रक्तश्राव हुँदा बिरामी परेकी ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी सिर्जना तामाङलाई गत चैत १५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रविता विश्वकर्मा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विश्वकर्माको पनि उद्दार गरिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु हुनुअघि जिल्लाबाट चर्को मुल्यमा नीजि हेलिकोप्टर चार्टर गरेर उपचारमा पठाउनुपर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्