मूल श्रोतको अनुमति लिएरमात्र समाचार सामग्री सम्प्रेषण गर्न काउन्सिलको आग्रह

काठमाडौं।प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति वा संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आग्रह गरेको छ।

काउन्सिलले बिहीवार एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा समाचार सामग्री तथ्यहिन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले पैँतीस दिनभित्र काउन्सिलमा लिखित वा अनलाइनमार्फत् उजुरी दिन सकिने पनि जनाएको हो ।
बिज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्य रूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन समेत आग्रह गरेको छ ।
सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री बिना अनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जन गुनासाहरू बढेको काउन्सिलको बिज्ञप्तिमा उल्लेख छ।

