सोलुखुम्बुको साल्मे खण्डमा सवारीसाधन र पैदल यात्रुको आवतजावत बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह
सोलुखुम्बु,१० असोज । सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ स्थित साल्मे क्षेत्रमा सडक भासिएर अवरुद्ध भएपछि उक्त सडकखण्डमा सम्पूर्ण सवारीसाधन तथा पैदल यात्रुको आवतजावत बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन नगर्न तथा पैदल आवतजावत नगर्न आग्रह गरेको हो।सडक भासिएपछि अवरुद्ध भएको सडक खुलाउन सडक डिभिजन कार्यालय हर्कपुरसँग समन्वय गरिएको प्रशासनले जनाएको छ।
निरन्तर वर्षाका कारण तत्काल सडक मर्मत तथा पुनर्निर्माणको काम सुरु गर्न नसकिने अवस्था देखिएकाले वर्षा रोकिएपछि शनिबारदेखि पुनर्निर्माण कार्य सुरु गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ।
सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी सूचनामा उल्लेख गरिए अनुसार सडक पुनर्निर्माणको कामलाई सहज बनाउन र सम्भावित जोखिमबाट यात्रु तथा सर्वसाधारणलाई जोगाउन उक्त सडकखण्डमा आवतजावत बन्द गरिएको हो। प्रशासनले यात्रा गर्ने यात्रु,सवारी चालक तथा सर्वसाधारणलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।


