हिमपात भएपछि सगरमाथा क्षेत्रबाट सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बु,१० असोज । खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो।

प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ।
चिनियाँ मूलका ती पर्यटक युरोपेली नागरिक भएको जानकारी आएको छ। हिमपातका कारण माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा ल्याइएको हो।
इम्जा छे अर्थात् आइल्यान्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो। नेपाल पर्यटन बोर्डका अनुसार दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोडिन्छ। आइल्यान्ड पिकलाई स्थानीय नाम इम्जा छेले चिनिन्छ। यो क्षेत्र समुद्री सतहबाट करिब छ हजार १६५ मिटर उचाइमा रहेको र खुम्बु हिमाल क्षेत्रमा पर्ने पर्वतारोहण गन्तव्य हो।
file foto


