सोलुखुम्बुका ८ वटै पालिकामा सकियो कांग्रेस अधिबेशन,क्षेत्रीय अधिबेशन १३ गते
सोलुखुम्बु,८ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसले ८ वटै पालिकाहरुमा अधिबेशन सम्पन्न गरेको छ । बिहिवार नेचासल्यान गाउँपालिकामा अधिबेशन अन्तर्गत भएको निर्बाचनको मत परिणाम सार्बजनिक भएसंगै जिल्लामा कांग्रेसको पालिका अधिबेशन सम्पन्न भएको हो।

निर्बाचनबाट नेचासल्यान गाउँपालिकामा शम्भु कार्की सभापतिमा निर्बाचित भएका छन् । निर्बाचनमा कार्कीसंग हेमराज कटेलले प्रतिस्पर्धा गरेका थिए।सभापतिमा निर्बाचित कार्कीको ८७ र प्रतिद्वन्द्वी कटेलको ४३ मत आएको निर्बाचन समितिले जनाएको छ ।
पालिका अधिबेशनका क्रममा सभापति चयनका लागि निर्बाचन भएको जिल्लाका आठ पालिकामध्ये नेचासल्यान मात्रै एउटा हो। नेचासल्यान गाउँपालिका अधिबेशनको कांग्रेस नेता एबम प्रतिनिधि सभा सदस्य प्रकाशसिंह कार्कीले बुधबार उद्घाटन गरेका थिए।यो उनको गृह पालिका समेत हो। बुधबार नै अधिबेशन सुरु भएका अन्य सात पालिकामा भने सर्बसम्मत रूपमा नेतृत्व चयन गर्दै पालिका अधिबेशन सम्पन्न भएको थियो ।
जस अनुसार सोलुदुधकुण्ड नगरपालिका नगर कार्यसमितिको सभापतिमा छोङ्बा लामा शेर्पा,खुम्बु पासाङल्हामू गाउँपालिकाको सभापतिमा फुनुरु शेर्पा,लिखुपिके गाउँपालिका सभापतिमा रेखराज बस्नेत,थुलुङ दुधकोशी गाउपालिका सभापतिमा भक्त गुरुङ,सोताङ गाउँपालिका सभापतिमा जङ गुरुङ,माप्यदुधकोशी गाउपालिका सभापतिमा रामप्रसाद मगर र महाकुलुङ गाउँपालिका सभापतिमा बलकुमार राई निर्बिरोध निर्बाचित भएका थिए ।
यसैबीच,१५ औं महाधिवेशनका क्रममा नेपाली कांग्रेस सोलुखुम्बुको पूर्वनिर्धारित क्षेत्रीय अधिवेशन कार्यक्रम प्रतिकूल मौसमका कारण स्थगित गरिएको जिल्ला कार्यसमिति सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए ।
जिल्ला कार्यसम्पादन समिति, सोलुखुम्बुको बैठकले मौसमको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी निर्वाचनको नयाँ मिति तय गरेको उनले बताए ।सभापति शेर्पाका अनुसार असोज १२ गते दिउँसो १ बजेदेखि निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ता सुरु गरी असोज १३ गते निर्वाचन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ।


