संयुक्त राष्ट्रसंघको महासभाबाट स्वदेश फर्किए प्रधानमन्त्री शाह
काठमाडौं,१० असोज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले महासभालाई सम्बोधन गर्दै नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा जलवायु संकटका विषयमा धारणा राखेका थिए।
सम्बोधनका क्रममा शाहले भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनबाट उत्पन्न संकटको उदाहरणका रूपमा प्रस्तुत गर्दै हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
उनले जलवायु संकट सिर्जनामा कम योगदान गरेका नेपालजस्ता देशले ठूलो मूल्य चुकाइरहेको उल्लेख गर्दै जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने बताए। साथै, हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने धारणा राखेका थिए।


