काठमाडौँको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुल पूर्ण रूपमा बन्द



काठमाडौँ,१० असोज । काठमाडौँको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिका र भक्तपुरको मध्यपुर थिमि नगरपालिका जोड्ने उक्त पुलको फाउन्डेसन छेउमा रहेको ग्याबिन जालीसहितको जमिन भासिएपछि सम्भावित दुर्घटना रोक्न सवारी साधन र पैदलयात्रीको आवागमनमा रोक लगाइएको हो।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रहरी प्रमुख सुबिन कार्कीका अनुसार मुख्य पुलको संरचनामा भने क्षति पुगेको छैन।

लगातारको वर्षाका कारण तत्काल मर्मत कार्य अघि बढाउन असम्भव भएकाले अर्को सूचना नभएसम्मका लागि पुलबाट आवतजावत अनिश्चितकालका लागि बन्द गरिएको नगर प्रहरीले जनाएको छ।

पुल बन्द भएपछि मूलपानी हुँदै भक्तपुर आउजाउ गर्ने सर्वसाधारण तथा सवारीचालकहरू समस्यामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्