शर्मा कायम मुकाय प्रधान सेनापति नियुक्त



काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्नु भएको छ । गत हप्ता बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई कायममुकाय प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो । सैनिक ऐन २०६३को दफा ८ को उपदफा (३) अनुसार राष्ट्रपति भण्डारीले उहांलाई कामु प्रधानसेनापतिमा नियुक्त गर्नु भएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २४ गतेबाट अनिवार्य अवकास पाउनुहुने भएपछि यही साउन २४ गतेबाट उहां एक महिने बिदामा बस्न लाग्नु भएको छ । कायम मुकायम प्रधानसेनापतिमा नियुक्त हुनु भएका रथी शर्माले स्वदेशमा सबै व्यवसायिक तालिमहरु सफलतापूर्वक सम्पन्न गर्नुको छ ।

उहांले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्याण्ड तथा पाकिस्तानबाट प्रति रक्षा र बंगलादेशबाट शान्ति सेना सम्बन्धी उच्चस्तरीय तालिम तथा सेमिनार पूरा गर्नु भएकोछ । यसको साथै नेपाली सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक र विगत १ वर्ष देखि बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारी पुरा गर्नु भएका शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी समस्याहरु तथा चुनौतीको बारेमा पुर्ण रुपमा ज्ञान हासिल गर्नु भएको छ ।

रथी शर्माले आफ्नो ३७ बर्षे लामो सैनिक सेवाको दौरान गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी तथा सैनिक सचिव, भर्ना छनौट निर्देशक,नीति तथा योजना निर्देशक, सह–बलाध्यक्षका साथै युद्धकार्य महानिर्देशक, संभाररथी,बलाध्यक्ष र बलाधिकृतको जिम्मेवारी समेत पुरा गर्नु भएको छ । उहांले नेपाली सेनाको हरेक जिम्मेवारीको नजिकबाट अनुभव र ज्ञान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्