उपत्यकाको निषेधाज्ञा : आज जोर सवारीसाधनको पालो



काठमाडौं । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा खुकुलो प्रावधानसहित एक साता लम्ब्याइएको छ । थप गरिएको निषेधाज्ञा अवधिभर निजी सवारी साधन जोर–विजोर प्रणालीमा सञ्चालन गर्न पाइने भएको छ ।

आज (मंगलबार)देखि निजी गाडीहरु स्वास्थ्य मापदण्डको पालना गरेर जोर–विजोर प्रणालीमा सञ्चालन गर्न पाइने भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले थप गरिएको निषेधाज्ञा अवधिभर निजी सवारी साधनहरु जोर नम्बर प्लेटको जोर बार र बिजोर नम्बर प्लेटको बिजोर बार चल्न दिने निर्णय गरिएको छ ।

आज जोर बार परेको हुनाले जोर नम्बर प्लेटका निजी गाडीहरु सञ्चालन गर्न पाइने छ । तर, सार्वजनिक सवारी साधनहरु भने सञ्चालन गर्न पाइने छैन । यसैबीच यातायात ब्यवसायीहरुले सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आएका छन् ।

त्यस्तै, यसअघि बन्द गरिएका पसलहरु पनि बार अनुसार खोल्न पाइने भएको छ । प्रजिअ पराजुलीका अनुसार मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीको पसल खोल्न पाइनेछ ।

त्यस्तै, सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाइनेछ । खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू भने हरेक दिन बिहान ११ बजेसम्ममात्र खोल्न पाइने भएको छ ।

त्यस्तै, रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाइनेछ । निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल् पाइने छ । तर, शनिबार भने अत्यावश्यकबाहेक अन्य पसलहरू भने बन्द गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्