मर्स्याङ्दी बाढी : तत्काल उद्धार र राहतमा लाग्न मुख्यमन्त्री पोखरेलको निर्देशन

काठमाडौ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दु:ख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा ताल गाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई बसोवासको प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।
नासो गाउँपालिका– १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण डुबानमा परेको छ । मर्स्याङ्दी छेउमा रहेको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परेका छन् । बाढी पसेपछि स्थानीय घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । प्रजिअ लामिछाने डुबानको खबरलगत्तै स्थानीयस्तरबाट सुरक्षाकर्मी खटाइसकिएको र अन्य प्रबन्ध मिलाइएको बताएका छन् ।
डुबानबाट विद्यालय र वडा कार्यालय पनि प्रभावित भएको छ । सदरमुकाम चामेस्थित तातोपानी कुन्ड नजिकैको बस्तीमा समेत बाढी पसेको छ ।

