बुद्ध एयर प्रकरण : क्याप्टेन आङ्गेगेलु शेर्पालाई जहाज उडानमा तीन महिना प्रतिबन्ध




बुद्ध एयरको काठमाडौंबाट विराटनगरमा उडेको जहाज ल्याण्डिङमा देखिएको समस्या प्रकरणमा चालक दल दोषी देखिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

पांग्रा नखुलेको कारण देखाउँदै विराटनगरबाट काठमाडौं फर्किएको बुद्ध एयरको विमानसम्बन्धित घटना छानबिन गर्न गठित विज्ञहरूको टोलीले चालकदलका दुवै सदस्यलाई दोषी ठहर गरेको हो । उनीहरूकै कमजोरीका कारण उक्त घटना भएको वरिष्ठ क्याप्टेन ददिराम निरौलासहित चार सदस्यीय विज्ञको प्रतिवेदनले औंल्याएको छ ।
ल्यान्डिङ गियर खुलेको तर अघिल्लो रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको संकेत बत्ती बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्नुपर्नेमा जाँच नगरी उडाएकोमा चालक दल दोषी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

असोज ११ गते बिहान काठमाडौं विमानस्थलबाट ७३ यात्रु बोकेर विराटनगर उडेको विमान अवतरण हुनै लाग्दा ल्यान्डिङ गियर (पांग्रा) नखुलेपछि क्याप्टेन आङ्गेलु शेर्पा र प्रशिक्षार्थी को–पाइलट अमन अन्सारीले काठमाडौं डाइभर्ट गराएका थिए । बुद्ध एयरको एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ विमानको त्यस दिन पहिलो उडान थियो । अवतरणका क्रममा पांग्रा खुले–नखुलेको संकेत गर्ने दुइटा बत्तीमध्ये ककपिटको ड्यासबोर्डसँगै रहने ‘प्राइमरी इन्डिकेटर’ ले सेन्टर (अगाडि) तथा पछाडि (दायाँ र बायाँ) गरी तीन भागमा रहेका पांग्रामध्ये दायाँ पांग्राको संकेत गर्ने बत्ती ‘नबलेको’ कारण देखाई विमानलाई काठमाडौं फर्काइएको थियो ।

दोषी देखिएका चालक दललाई कम्तीमा तीन महिना उडानमा प्रतिबन्ध लाग्ने बताइएको छ । क्याप्टेन आङ्गेलु शेर्पा र प्रशिक्षार्थी को–पाइलट अमन अन्सारी विगत एक महिनादेखि होल्डमै रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्