मन्त्रिपरिषद् बैठक : के के भए निर्णय ?
काठमाडौं,२५ भदौ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी असोज ६ देखि १० गतेसम्म अमेरिका जाने अनुमति दिएको हो।

सरकारले भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न ६ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ।
बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी समितिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, अनुचित लेनदेन तथा मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ।
भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साल नियुक्त भएका छन्। आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले दुई सहसचिवलाई सचिवमा बढुवा गरी प्रदेशमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ। सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।
त्यस्तै, सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।


