थुलुङ दुधकोशीको निर्णयः भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई राहत, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ लाख ८५ हजार जम्मा गर्ने



सोलुखुम्बु,२४ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि थुलुङ दुधकोशी गाउँपालिकाले रु. १७ लाख ८५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

बुधबार गाउँपालिका कार्यबाहक अध्यक्ष सविता राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले निर्वाचित जनप्रतिनिधि र कर्मचारीको सेवासुविधा कटौती गरि उक्त राहत रकम जम्मा गर्ने निर्णय गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

उक्त बाढीका कारण गाउँपालिकाका चारजना नागरिक अहिले सम्म सम्पर्क विहिन भएकाले उनीहरुको खोज तथा उद्धारका लागि समन्वय र सहकार्यलाई निरन्तरता दिने पनि निर्णय गरेको छ। यस्तै बेपत्ता नागरिकका परिवारलाई राहत रकम बापत ५५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

गाउँ कार्यपालिकाको बैठकले वडा नम्बर ८ का पानदेउ राई,डम्बर बहादुर राई, वडा नम्बर २ का बाबुराम खत्री र विनोद बस्नेतका परिवारलाई प्रति परिवार र५५ हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिका स्थायी ठेगाना भएका चार जना नागरिक सम्पर्कविहीन भएका थिए। उनीहरूको अवस्था पत्ता लगाउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँगको समन्वय जारी रहेको भएपनि अबस्था अज्ञात रहेको गाउँपालिकाले जनाएको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा परिवारलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउने तथा विपद्को अवस्थामा स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने खोज,उद्धार र राहतका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ काम भइरहेको कार्यबहाक अध्यक्ष सविता राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्