प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय



काठमाडौं,२० भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

नेपालबाट प्रस्ताव गएपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै असोज ८ गते (२४ सेप्टेम्बर) का लागि प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संशोधित तालिका हिजो शुक्रबार दिएको हो।

राष्ट्रसंघ मुख्यालयले दिएको समय शुक्रबार न्युयोर्कस्थित नेपाली मिसनबाट परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्री शाहको सचिवालयमा पुगेको छ। सम्बोधनको यही समयअनुसार प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अगाडि बढाइएको छ।‘न्युयोर्कस्थित नेपाली मिसनबाट २४ सेप्टेम्बरका लागि सम्बोधनको समय मिलेको जानकारी हामीलाई प्राप्त भएको छ, त्यो हामीले प्रधानमन्त्री कार्यालायमा पठाएका छौँ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘अब यही समयअनुसार प्रधानमन्त्रीको भ्रमणको तयारी हुन्छ।’

राष्ट्रसंघको संशोधित तालिकामा २४ सेप्टेम्बरको दिउँसो ३ देखि ९ बजेसम्म १८ देशका नेताले महासभामा सम्बोधन गर्ने उल्लेख छ, जसको १७औँ नम्बरमा नेपालका ‘हेड अफ गभर्मेन्ट’ले बोल्ने तालिका छ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने ८१औँ महासभामा २२–२६ र २८ सेप्टेम्बरमा अहिलेसम्म १ सय १८ देशका नेताले सम्बोधन गर्ने सूची बनेको छ। जसमा अधिकांश राष्ट्रप्रमुख, सरकारप्रमुख वा विदेशमन्त्री हुनेछन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू र प्रधानमन्त्रीको सचिवालय सदस्यहरूका अनुसार भोटेकोसी विपद्का कारण प्रधानमन्त्रीले आफैँ महासभलाई सम्बोधन गर्ने तयारी अगाडि बढेको हो।

प्रधानमन्त्रीले महासभामा खासगरी विश्व तापमानले गर्दा भोटेकोसीजस्तो विपद् नेपालले भोग्नु परेकोले त्यसको क्षतिपूर्ति र न्यायको कुरा उठाउने तयारी छ। विपद्अघिसम्म यसपाली राष्ट्रसंघ महासभामा परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने तयारी थियो। तर परराष्ट्रका अधिकारी र प्रधानमन्त्रीको सचिवालय सदस्यहरूका अनुसार प्रधानमन्त्री शाहको अमेरिका भ्रमण सकेसम्म छोटो बनाउने तयारी छ।

त्यसैले अहिलेसम्म प्रधानमन्त्री शाहको ‘साइडलाइन’ भेटवार्ता के कति तय गर्ने भन्ने टुंगो लागिसकेको छैन। ‘देश विपद्पछि उद्धार र राहत व्यवस्थापनको चरणमा रहेकाले महासभामा सम्बोधन मात्रै गरेर प्रधानमन्त्री फर्किनुहुन्छजस्तो छ’, परराष्ट्रका एक अधिकारीले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीको समयका आधारमा मात्रै साइडलाइन बैठकहरू तय हुने हो।’

प्रधानमन्त्री बनेको पाँच महिनामा शाहको यो नै पहिलो विदेश भ्रमण हुनेछ। यद्यपी यो औपचारिक रुपमा अमेरिकाको भ्रमण होइन। शाहले प्रधानमन्त्री भएपछि अहिलेसम्म कुनै देशका राष्ट्र वा सरकार प्रमुखसँग प्रत्यक्ष भेटवार्ता गरेका छैनन्।

न्युयोर्कमा केही समय रहँदा प्रधानमन्त्री शाहको भेटको पहिलो प्राथमिकता सम्भव भएसम्म अमेरिका, चीन र भारतको नेतृत्वसँग हुने देखिन्छ।

राष्ट्रसंघको सूचीमा अहिलेसम्म भारतबाट विदेशमन्त्रीले सम्बोधन गर्ने उल्लेख भएकाले प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तय भएको देखिँदैन। सेप्टेम्बर २६ मा चीनका उपराष्ट्रपति हान चङ र भारतका विदेशमन्त्री एस जयशंकरले महासभामा सम्बोधन गर्ने कार्यतालिका छ।

चीनका राष्ट्रपति सी चिनफिङले त्यही समय २३ देखि २५ सेप्टेम्बरसम्म अमेरिकाको औपचारिक भ्रमण गर्ने तय भए पनि राष्ट्रसंघ महासभामा सहभागी हुने कार्यक्रम छैन। सेप्टेम्बर २४ मा वासिङ्टन डिसिस्थित ह्वाइटहाउसमा सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भेटवार्ता तय गरिएको छ।

तसर्थ न्युयोर्कमा प्रधानमन्त्री शाहका साइडलाइन भेटवार्ता छिमेकी भारत र चीनसँग सरकार प्रमुखकै तहमा हुने सम्भावना कम छ।

३ भदौको मन्त्रिपरिषद् बैठकले महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने निर्णय गरेको थियो। भदौ १० मा रसुवाको भोटेकोसीमा आएको महाविपत्तिपछि भदौ १८ मा प्रधानमन्त्री शाह नै राष्ट्रसंघीय महासभामा सम्बोधनका लागि जाने निर्णयमा पुगेका हुन्। राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाह नै जाने भएपछि परराष्ट्रमन्त्री खनाल प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागी हुनेछन्।

‘अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री शाह महासभामा सम्बोधन गरेर फर्किने र अन्य सबै दुई पक्षीय साइडलाइन भेटवार्ताहरू परराष्ट्रमन्त्री खनालको नेतृत्वमा हुने देखिन्छ’, परराष्ट्रका ती अधिकारीले भने।

भ्रमण टोलीमा प्रधानमन्त्री शाहको प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य रहने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

यस्तै परराष्ट्र सचिव अमृतबहादुर राई, मन्त्रालयको संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा रहने परराष्ट्रका अधिकार बताउँछन्।

ती अधिकारका अनुसार न्युयोर्कस्थित राष्ट्रसंघीय नियोग प्रमुख लोकबहादुर थापा प्रतिनिधिमण्डलका सदस्यका रूपमा महासभामा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्