ग्यासमा भइ रहेको कालोबजारी रोक्न ‘सफ्टवेयर’ बिकास गरेर जानुपर्नेमा सांसद कार्कीको जोड
काठमाडौं,२४ भदौ । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले ग्यासको आयातदेखि उपभोक्ताको हातसम्म पुग्ने प्रक्रियालाई पारदर्शी र वैज्ञानिक बनाउन डिजिटल प्रणाली लागू गर्नुपर्ने बताएका छन्। उनले ग्यास अभावको नाममा डिपोबाट भइरहेको भनिएको कालोबजारी तत्काल नियन्त्रण गर्न बजार अनुगमनलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग,वाणिज्य तथा आपूर्ति समितिको बैठकमा बोल्दै सांसद कार्कीले बजारमा पर्याप्त ग्यास आएको भनिए पनि उपभोक्ताले भने चरम अभाव र महँगी खेप्नुपरेको बताए।उनका अनुसार उपत्यकामा करिब ४५ हजार ग्यास सिलिन्डर भित्रिएको भनिए पनि डिपोबाट करिब १९ हजार सिलिन्डर मात्रै वितरण भइरहेको छ। “४५ हजार सिलिन्डर आएको भनिन्छ, डिपोबाट १९ हजार मात्रै वितरण हुन्छ भने बाँकी सिलिन्डर कहाँ गए ?” उनले प्रश्न गरे।
ग्यासको अभाव देखाएर कतिपय डिपोले एउटा सिलिन्डरको मूल्य ७ हजार ५०० रुपैयाँसम्म असुलिरहेको आरोपसमेत कार्कीले लगाए। बजारमा ग्यासको आपूर्ति पर्याप्त रहेको दाबी गरिए पनि वितरण प्रणालीमै समस्या रहेको उनको भनाइ थियो।
डिपोहरूले उद्योगबाट ग्यास सिलिन्डर रातिको समयमा मात्रै उठाउने गरेकोप्रति पनि उनले प्रश्न गरे । दिउँसो ग्यास ल्याउँदा उपभोक्तालाई प्रत्यक्ष वितरण गर्नुपर्ने दबाब हुने भएकाले राति ग्यास ल्याएर अभाव देखाउने गरिएको हुन सक्ने उनको आशंका थियो । “दिउँसो ग्यास ल्याउँदा उपभोक्तालाई एक–एक सिलिन्डर दिनुपर्छ, राति ल्याउँदा ग्यास अभाव छ भनेर थोरै वितरण गरे भयो,” कार्कीले भने।
ग्यासको आयात,डिपोमा प्रवेश र वितरण विवरण सम्मको रेकर्ड एउटै डिजिटल प्रणालीमा जोड्न सफ्टवेयर विकास गरेर जानुपर्ने उनको सुझाव छ। कुन उद्योगबाट कति ग्यास आयो,कुन डिपोमा कति पुग्यो,कति बिक्री भयो र अन्ततः कति उपभोक्ताले पाए भन्ने विवरण तत्काल हेर्न सकिने व्यवस्था गर्न सकेमा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सकिन्छ- उनले भने ।
उनले ग्यास आपूर्ति तथा वितरणसम्बन्धी नीति बनाउँदा व्यवसायीको सुझावलाई समेत समेट्न सरकारलाई आग्रह गरे। व्यवसायी र सरकारबीच समन्वय गरेर व्यवहारिक नीति निर्माण गर्न सकेमा आपूर्ति व्यवस्थामा देखिएका समस्या समाधान गर्न सहज हुने उनको धारणा थियो।


