जोन्सनको खोप नलगाउनुभन्दा लगाएको धेरै गुणा राम्रो : अमेरिकी रोग नियन्त्रण केन्द्र



सीएनएन । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सीडीसीले एउटा डोज मात्र लगाउनुपर्ने जोन्सन एण्ड जोन्सन खोपबाट पुग्न सक्ने जोखिमको सम्भावनालाई यसका अनगिन्ती लाभले परास्त गर्ने बताएको छ ।

त्यसैले यसको असरका कारण खोप नलगाउनु भन्दा लगाउनु धेरै गुणाले लाभदायक हुने सीडीसीकी खोजकर्ता डाक्टर हेना रोजेनब्लमले बिहीबारको बैठकमा बताएकी छन् ।

उनले भनेकी हुन्, “हामीले जोन्सन र एमआरएनए कोभिड खोपमार्फत अस्पताल भर्ना हुनुपर्ने, आईसीयुमा राख्नुपर्ने र गम्भीर बिरामी भइ मृत्यु हुने सङ्ख्या उल्लेख्य रुपमा कम गराउन सक्छौँ । त्यसैले यी सबै लाभदायक पक्षले खोपको जोखिमयुक्त असरलाई स्पष्ट रुपमा परास्त गर्छन् । ”

यसअघि अमेरिकी खाद्य तथा औषध विभाग, एफडीएले जोन्सन एण्ड जोन्सन खोपबाट सम्भावित स्नायु प्रणालीमा दुर्लभ (न्यरोलोजिकल) समस्या गराउने बढ्दो जोखिम रहेकाबारे चेतावनी दिएको थियो । यसमा एफडीएले खोप लगाइएका १ करोड २८ लाख मानिसहरु मध्ये ‘गिलियन–बेर सिन्ड्रोम’ का १०० भन्दा बढी रिपोर्ट प्राप्त भएको बताएको थियो । यसमा कतिपय मानिसहरुमा प्यारलाइसिसको स्थिति पनि आएको उल्लेख गरिएको थियो ।

गिलियन बेर सिन्ड्रोममा हाम्रो प्रतिरोधात्मक प्रणालीले शरीरको स्नायु प्रणालीमा हमला गर्दछ जसले दिमाग र मेरुदण्ड बाहिरका नर्भ सेल्स ड्यामेज गरि मांसपेसीलाई कमजोर बनाइदिन्छ र कतिपय अवस्थामा प्यारालाइसिस पनि हुने गर्दछ ।

बिहीबारको बैठकमा डाक्टर हेनाले पेश गरेको डाटामा गिलियन बेर सिन्ड्रोम उत्पन्न हुन सक्ने सम्भावनाको तुलनामा जोन्सन एण्ड जोन्सन खोपको प्रत्येक डोजले कोभिड–१९ संक्रमणबाट जोगाउन सक्ने देखिएको छ ।

सीडीसीको डाटामा १८ देखि २९ बीचका दश लाख महिलाहरुमा खोप लगाउँदा यसले झन्डै ९ हजारलाई कोरोना संक्रमणबाट र प्रत्येक पाँच जनालाई कोभिड मृत्युबाट जोगाउन सक्ने तर ती मध्ये एकजनालाई मात्र गिलियन बेर सिन्ड्रोम हुन सक्ने जोखिम रहेको देखाएको छ ।

त्यस्तै पुरुषहरुमा पनि खोप लगाउँदा ६,६०० लाई संक्रमणबाट र तीनजनालाई मृत्युबाट जोगाउने र दुईजनालाई मात्र गिलियन बेर सिन्ड्रोमको समस्या हुने सम्भावना रहेको डाटाले देखाएको हो । यसमा ६५ वर्ष या सो भन्दा माथिको उमेरका मानिसहरुलाई त खोप लगाउनुका झन् बढी लाभदायक रहेको तथ्याङ्क छ ।

६५ वर्ष भन्दा माथिको उमेरका दश लाखलाई खोप लगाउँदा यसले झन्डै २९ हजार नयाँ संक्रमण र ८४० लाई मृत्यु हुनबाट जोगाउनेछ भने यसको तुलनामा केबल ८ जनामा मात्र न्युरोलोजिकल समस्या हुने खतरा हुनेछ ।

त्यसैले पनि खोपले स्वास्थ्य समस्या गराउने भन्दा धेरैको ज्यान बचाउन सक्ने निष्कर्ष निकालिएको हो ।

त्यस्तै एउटा मात्र डोज आवश्यक पर्ने खोप यतिबेला अत्यन्तै महत्वपूर्ण भएको अर्का डाक्टर हेन्री बर्नस्टाइन बताउँछन् । कोरोना विरुद्धका स्वीकृत खोपहरु मध्ये जोन्सन एण्ड जोन्सन मात्र यस्तो खोप हो जसको एक डोज मात्र पर्याप्त छ ।

प्रतिक्रिया दिनुहोस्