माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सोलुखुम्बुको बैठक सम्पन्न, पार्टीको मस्यौदा बिधानमाथि छलफल



सोलुखुम्बु।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)जिल्ला समन्वय कमिटी सोलुखुम्बुको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ।

जिल्ला समन्वय समितिका संयोजक अशिम राईको अध्यक्षतामा शनिबार सम्पन्न बैठक मा फागुन पहिलो हप्ता आयोजना गर्न लागेको पार्टीको बिधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदा बिधानमाथि छलफल गर्नुका साथै सुझाव संकलन गरिएको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ।

पार्टी कोशी प्रदेश कमिटीका कार्यालय सदस्य सावित्री कुमार काफ्ले (समर) को प्रमुख आतिथ्यमा सम्पन्न सो बैठकमा जिल्ला समन्वय समितिका सदस्य देखि जिल्लाबाट प्रदेश तथा केन्द्रसम्म प्रतिनिधित्व गर्ने नेता कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ।

बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई ‘सुरबीर’ केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’, पार्टी प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरी र केन्द्रीय सल्लाहकार कमिटी सदस्य धर्मराज बन लगायत जिल्ला समन्वय कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो।

पार्टी केन्द्रद्वारा नेतृ पम्फा भुसालको नेतृत्वमा गठित बिधान मस्यौदा समितिद्वारा मस्यौदा गरिएको बिधानमाथि छलफल गर्दै बैठकका सहभागीहरुले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकारसहितको बनाउनु पर्ने,हरेक तहमा नेतृत्व छनौटको जिम्मा कार्यकर्तालाई दिइनु पर्ने र संगठन र क्रियाशील सदस्यको सट्टा संगठन र समर्थक सदस्यताको ब्यबस्था गर्नुपर्ने धारणा व्यक्त गरेको जिल्ला समन्वय समिति संयोजक राईले जानकारी दिए।

संयोजक राईका अनुसार उम्मेदवार चयन प्रक्रियाका सन्दर्भमा पनि बैठकका सहभागीहरुले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।वडा तहको सिफारिसमा वडाका उम्मेदवारहरु गाउँपालिका कमिटीले,पालिका कमिटीको सिफारिसमा गाउँपालिकाका उम्मेदवारको छनौट जिल्ला कमिटीले,प्रदेश निर्बाचन क्षेत्रको सिफारिसमा प्रदेशको उम्मेदवार प्रदेश कमिटीले र जिल्लाको सिफारिसमा प्रतिनिधिसभाको उम्मेदवार जिल्लाले छनौट गर्ने गरी बिधानमा स्पष्ट उल्लेख गरिनुपर्ने सुझाव सहभागीहरुले दिएको संयोजक राईको भनाई थियो।

नेकपा माओवादी केन्द्रको बिधान महाधिवेशन फागुनको १,२ र ३ गते काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्