जथाभावी भाडा लिन थालेपछि उपत्यकामा सवारीसाधनको अनुगमन र कारबाहीलाई तीब्रता



काठमाण्डाै । काठमाण्डौ उपत्यकाभित्र बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा परेका छन् । साउन एक गतेदेखि नै अनुगमन सुरु गरेको र पाँच दिनमा २ सय ५१ गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबारदेखि शनिबारसम्म १ सय ६० तथा आइतबार, सोमबार र मंगलबार गरी थप ९१ वटा गाडीलाई कारबाही गरेको थियो । हिजो मात्रै १७ वटा गाडी कारबाहीमा परेका छन् । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा साउन १ गतेदेखि लागू हुने गरी २८ प्रतिशतसम्म भाडा बढाएको थियो । तर अन्तर प्रदेशमा बढेको भाडादरलाई देखाएर छोटो दूरीमा समेत मनपरि भाडा लिन थालेपछि अनुगमन थालिएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।

बढी भाडा लिने गाडीलाई निःशुल्क नम्बर १०३ मा फोन गरेर सूचना दिन पनि महाशाखाले आग्रह गरेको छ । एउटै गाडीले पटक पटक बढी भाडा लिएको पाइएमा पाँच हजार रुपैयाँसम्म जरिवाना हुने पनि प्रवक्ता दासले बताउनुभयो । काठमाण्डौ उपत्यका बाहिर पनि बढी भाडा लिएको गुनासो बढ्न थालेको छ । प्रदेशभित्रकै एक जिल्लाबाट अर्को जिल्लामा चल्ने तथा छोटो दूरीका गाडीले बढी भाडा लिएपछि अनुगमन थालेको यातायात व्यवस्था विभागले जनाएको छ ।

कुनै बसले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा नजिकको प्रहरी वा प्रशासनमा उजुरी गर्न विभागले अनुरोध गरेको छ । उजुरीकै आधारमा तोकिएको भन्दा बढी भाडा लिने सिन्धु हेलम्बु यातायातको बा ३ ख २७१९ नम्बरको बस हिजो कारबाहीमा परेको छ । तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि कारबाही गरेको मेलम्चीका ट्राफिक प्रहरी प्रह्लाद दाहालले बताउनुभयो । बसमा अनिवार्य भाडा सूची टाँस्न, सिट क्षमता भन्दा बढी यात्रु नराख्न तथा कोरोना सङक्रमण जोखिम कायमै रहेकाले यात्रु, चालक तथा सहचालक सबैले स्वास्थ्यका मापदण्डको पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्