एघार महिनामा १५ अर्ब शोधानान्तर घाटा



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा शोधानान्तर स्थिति १५ अर्ब १५ करोड रूपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो महिना यस्तो शोधान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा चालु खाता २ खर्ब ९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ६२ अर्ब ५९ करोड रूपैयाँ थियो ।

आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा कुल आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । आयाततर्फ भारतसँग ३२.२ प्रतिशत, चीनसँग २४ प्रतिशत र अन्य मुलुकसँगको आयात ९ प्रतिशतले बढेको छ ।

त्यस्तै निर्याततर्फ ३७.८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब पुगेको छ । गन्तव्य मुलुकको आधारमा भारततर्फको निर्यात ४३.३ प्रतिशत बढेको छ भने चीनतर्फ १७.४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तुतर्फको व्यापारघाटा २४.६ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब रूपैयाँ पुगेको छ ।

त्यस्तै, सेवातर्फको व्यापारघाटा ५८ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यस अवधिमा मुद्रास्फिति ४.१९ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमयको सञ्चिति ११ अर्ब ७१ अमेरिकी डलर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्