कविता- जीवन सुन्दर छ



✍️नवराज बस्नेत (तारा)

मेरो जीवन बेकार छ,
मैंंले जीवनमा केही गर्न सकिन
मेरो भाग्य पनि कस्तो?
कर्म पनि कस्तो ?

यस्तो जीवन भन्दा मर्न राम्रो.. भन्नेहरु देख्छु

तिमीहरुले एक पटक मलाई हेर त
घरको एउटा छोरा आमा, बाबाको ठुलो सपना
गाँउको सामान्य किशोर युवा
पढेर केही बन्ने रहर थियो।

तर समयको पदचापले बाटो मोडिदियो
१६ बर्षको कलिलो उमेरमा मेरुदण्डमा गम्भीर चोट
दुवै हात, खुट्टा चल्न छोडे स्पर्श शक्ति समेत गुम्यो ।।

डाक्टरले दुई बर्ष बाँच्ने समय दिए
तर म दुई बर्षमा मरिन
किन कि म यति छिटो मर्नका लागि जन्मिएको थिईन
जीउनको लागि जन्मिएको थिएं।

कतिपय भन्छन कठै विचरा !
कुन जन्मको पाप !!
म सँग पनि हार्न धेरै उपायहरु थिए
तर जित्ने एउटा बाटो रोजें
किनकी यो जीवन सृष्टिकै सर्वोतम कृति हो
यो जीवन सुन्दर छ, धेरै सुन्दर ।

म सादा क्यानभास जस्तै थिंए
सेतो फिका-फिका रंङ्गविहिन
तर मैंले आँफ्नै सोचले
कर्मले त्यो क्यानभासमा ईन्देणी रंङ्ग भर्न कोसिश गरें
साहित्यमा र सेवामा आफ्नो जीवनमा मात्र होईन दिन दु:खीको जीवनमा रंङ्ग भर्न कोसिश गरें।

दाजु,भाइ,दिदी,बहिनीहरु र सुन साथी हो !
हामी जन्मिंदा कसैको जीवन रंगिन भएर आउँदैन
सवै सादा र फिक्का भएर जन्मिन्छौं
तर जीवनलाई रंङ्गिन बनाउने जिम्मा हाम्रै हो
राम्रो सोच,राम्रो कर्म गर
यही नै जीवनको रङ हो ।

त्यसैले खस, तर फेरि उठ
रोउ तर आँशु पुछेर अगाडि बढ
किनकी- जीवन सुन्दर छ
यो सुन्दर बनाउने कलाकार हामी आँफै हो।

सोलुदुधकुण्ड न.पा.११तिङला सोलु-हाल काठमाडौं

प्रतिक्रिया दिनुहोस्