रसुवा बाढी: सोलुखुम्बुका ४६ जना सम्पर्कविहिन , आवश्यक समन्वयका लागि सांसद कार्कीको संयोजकत्वमा समिति
काठमाडौं,११ भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा सम्पर्कविहीन भएका सोलुखुम्बुका नागरिकहरुको खोजी तथा उद्धारका लागि काठमाडौंमा उपलब्ध तीनै तहका जनप्रतिनिधिहरूको बैठकले संघीय संसद प्रतिनिधि सभाका सदस्य प्रकाशसिंह कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ।

सांसद कार्कीको आव्हानमा काठमाडौंको चाबहिलस्थि ए–वान क्याफेमा बिहिबार बसेको बैठकले बाढीबाट प्रभावित तथा सम्पर्कविहीन नागरिकको खोजी,उद्धार र आवश्यक सरकारी समन्वयका लागि समिति गठन गरेको हो। बैठकले बाढीका कारण सम्पर्कविहीन भएका नागरिकको खोजीलाई प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायसँग तत्काल आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ। रसुवा बाढीमा परी हालसम्म जिल्लाका ८ वटै स्थानीय तहका गरी ४६ जना नागरिक सम्पर्कविहिन रहेको तथ्यांक बैठकमा जानकारी गराइएको थियो।
बैठकमा प्रस्तुत विवरणअनुसार नेचासल्यान गाउँपालिकाका दुई जना, सोलुदुधकुण्ड नगरपालिकाका १६ जना,थुलुङ दूधकोशी गाउँपालिकाका चार जना,माप्य दूधकोशी गाउँपालिकाका १० जना,सोताङ गाउँपालिकाका ९ जना, महाकुलुङ गाउँपालिकाका तीन जना तथा लिखुपिके गाउँपालिकाका दुई जना गरी ४६ जना सम्पर्कविहीन रहेका छन्।

सम्पर्कविहीन हुनेमा नेचासल्यान गाउँपालिकाका आङफुर्वा शेर्पा र साङ्गे शेर्पा छन्। सोलुदुधकुण्ड नगरपालिकाबाट विकास श्रेष्ठ,भुपाल मगर,सुरेश मगर, अनिश मगर, धनबहादुर तामाङ,पासाङ काजी तामाङ,पासाङ तामाङ, छिरिङ तामाङ, सागर तामाङ, रिन्जी तामाङ, दोर्जी तामाङ, रोजित तामाङ, साङबहादुर तामाङ, देवबहादुर मगर, पोक्ची तामाङ र काजी शेर्पा सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
त्यस्तै,थुलुङ दूधकोशी गाउँपालिकाबाट बाबुराम खत्री,डम्बर राई,पान्देउ राई र बिनोद बस्नेत; माप्य दूधकोशी गाउँपालिकाबाट तुलाबहादुर मगर, हर्कबहादुर मगर, प्रकाश मगर, गोकुल मगर, प्रम मगर, कुमार मगर, बालकुमार मगर, नुरु जाङ्बु शेर्पा, ओमनाथ राई र प्रेम मगर सम्पर्कविहीन छन्।
सोताङ गाउँपालिकाबाट गेल्जे शेर्पा,लोप्सान शेर्पा, गेन्बु शेर्पा, प्रेम नाछिरिङ, सोना शेर्पा, कर्णबहादुर राई, प्रेमकुमार राई, अम्बिर नाछिरिङ र कर्णबहादुर राईको नाम सम्पर्कविहीनको सूचीमा राखिएको छ। महाकुलुङ गाउँपालिकाबाट सुसान्त कुलुङ, निरकुमार राई र शुभधन राई तथा लिखुपिके गाउँपालिकाबाट दिलबहादुर भुजेल र निमा शेर्पा सम्पर्कविहीन रहेको जनाइएको छ।
बैठकले सूचीमा नाम छुटेका तथा आफन्तसँग सम्पर्क हुन नसकेका अन्य व्यक्तिका परिवार वा आफन्तलाई समेत सम्बन्धित संयन्त्रमार्फत जानकारी गराई खोजी तथा उद्धार कार्यमा समावेश गर्न आग्रह गरेको छ।
खोजी तथा सरकारी समन्वयका लागि गठित समितिमा प्रतिनिधिसभा सदस्य रिना उप्रेती केसी,प्रतिनिधिसभा सदस्य गिता गुरुङ,राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा,कोशी प्रदेशका मन्त्री गोम्बु शेर्पा,प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी,प्रदेशसभा सदस्य डोल्मा तामाङ तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौला सदस्य रहेका छन्।
त्यस्तै गरी समितिमा सोलुखुम्बु जिल्लाका सबै स्थानीय तहका प्रमुखहरूका साथै राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा,श्रम संस्कृति पार्टीलगायत राजनीतिक दलका जिल्ला नेतृत्वलाई समेत सदस्यका रूपमा समेटिएको छ।
बैठकले बाढीबाट प्रभावित सोलुखुम्बुवासीको उद्धार तथा खोजी कार्यमा राज्यका सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने र आवश्यक सहयोग तथा पहललाई थप प्रभावकारी बनाउने निर्णय गरेको जनाइएको छ। बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पा,पूर्ब कोशी प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेत,नेपाली कांग्रेस सोलुखुम्बुका सभापति एबम सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा,नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,जनप्रतिनिधिसहित जिल्लाका झण्डै एक सय बढी नागरिकको उपस्थिति रहेको थियो ।

