पत्रकार महासंघले मंसिर १३ देखि १८ गतेसम्म राजनीतिक दलका कार्यालयमा धर्ना दिने
काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका विभिन्न माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

सरकारले पहिलो चरणको आन्दोलनलाई बेवास्ता गरेको भन्दै महासंघले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयमा धर्ना दिनेदेखि देशव्यापी प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासचिव रामप्रसाद दाहालद्वारा बिहिवार जारी प्रेस बिज्ञप्तिमा जनाईए अनुसार महासंघले मंसिर १३ गतेदेखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरेको छ । धर्ना कार्यक्रम हरेक दिन बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ ।
घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा धर्ना दिइनेछ । ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित महासंघले सरकार र सत्तारूढ दलको ध्यानाकर्षण गराउने जनाएको छ ।
त्यस्तै, मंसिर १४ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यालयमा ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः प्रमुख विपक्षी दल किन मौन ?’ भन्ने नारासहित धर्ना दिइनेछ । मंसिर १५ गते नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्ना दिने कार्यक्रम छ ।
महासंघले मंसिर २० गते देशव्यापी प्रदर्शन गर्ने पनि घोषणा गरेको छ । उक्त दिन काठमाडौंमा माइतीघरमा र काठमाडौं बाहिरका जिल्लामा सदरमुकाम केन्द्रित प्रदर्शन गरिनेछ । प्रदर्शनमा सहभागी पत्रकारलाई कालो लुगा लगाउन, कालोपट्टी बाँध्न र कालै मास्क प्रयोग गर्न महासंघले आह्वान गरेको छ ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको र सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको विषयलाई आन्दोलनको प्रमुख कारण बनाएको छ ।
त्यसैगरी गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयमा पनि महासंघले विरोध जनाएको छ ।
महासंघका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको भन्दै पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सम्पन्न गरिएको थियो । तर, आन्दोलनका मागप्रति सरकारले बेवास्ता गरेपछि थप दबाब सिर्जना गर्न दोस्रो चरणको कार्यक्रम घोषणा गर्नुपरेको महासंघले जनाएको छ ।
महासंघले राजनीतिक दलहरूलाई पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ । कुनै पनि राजनीतिक दलले महासंघका मागप्रति लिखित रूपमा ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरेमा उक्त दलको कार्यालयमा धर्ना नदिइने विज्ञप्तिमा उल्लेख छ ।
महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सक्रियतापूर्वक सफल बनाउन आफ्ना सबै प्रदेश समिति, जिल्ला शाखा तथा सदस्य पत्रकारलाई आह्वान गरेको छ । घोषित कार्यक्रमबाट पनि माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी महासंघले दिएको छ ।


