पूर्बमन्त्रीद्वय सहित अन्य र ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ,१० मंसिर। ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

बिहीबार काठमाडौँ जिल्ला अदालतले ईनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।काठमाडौँ जिल्ला अदालतका एक अधिकृतले तीनै जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको पुष्टि गरेका छन्।
ईनमसँगको सम्बन्ध र कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए। श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
ईनमविरुद्ध प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको छ।त्यस्तै, श्रेष्ठ र भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कनेक्सन देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनमलाई पक्राउ गरेको थियो।
उता,मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बिहीबार अनुमति दिएको हो ।
यसअघि अदालतले उनीहरूलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि पुनः म्याद माग गरेको थियो ।


