रामकृष्ण ढकालको गद्य कविता : म मान्छे हुन सकिन

हो म साँच्चै मान्छे हुन सकिन
आकार जस्तो होस
रुप रङ्गको साकार जस्तो होस
तर म मान्छे हुन सकिन
देख्नेहरू शायद भ्रममै छन
त्यसैले मलाई मान्छे नै भन्दछन
तर केही बिडम्बना अवश्य छन
जसले मलाई मान्छे हुनबाट रोक्दछन
मेरो शारीरिक बनावटले होइन
मेरो बोलिले होइन
मान्छे हुनको लागि आवश्यक
युग सुहाउँदो विशेषता नपुगेर
वर्तमान अधिशिक्षित चन्द्रलोकगामी समयको माग पूरा गर्नबाट चुकेर

हो साँच्चै म मान्छे हुन सकिन
किनकी
मैले कहिल्यै
सुराको सुर्को तान्न सिंकें
न कहिल्यै छक्कापञ्जा हान्न सिकें
न कहिल्यै घुस कमिसनमा बिकें
न कहिल्यै खल्तिबाट सूर्ती चुरोट झिकें
हो यहि कारणले हजुर
म मान्छे हुन सकिन जरूर
तासको खालमा बसिन
जुवाको जालमा फसिन
निर्धा सोझाको मासु खान सकिन
दुखी निमुखाको आँसु देख्न सकिन
विदेशिको विकारलाई सँस्कार मानिन
स्वदेश छोडी परदेश देख्न जानिन
सत्य लत्याई असत्य पछ्याउन सकिन
त्यसैले हजुर म मान्छे हुन सकिन
समाजका झोले झाम्टेहरूको पछि लागिन
इमान बेचेर सुको मागिन
कुनै कुकाण्डमा सरिक भइन
झुटको संसारलाई आफ्नो बनाइन
चरित्र बेचेर सान देखाइन
पैसोले किनेर मान बेसाइन
त्यसैले हजुर यो सत्य कुरो हो
म मान्छे हुन सकिन
आधुनिककताको नाममा
निर्लज्जताको नालिमा नुहाइन
नारकिय व्यबहारमा डुबेर
देखावटी रामरमितामा स्वाभिमान कुहाइन
कुकर्मको झापड हानेर
कुनै इमान्दारलाई रुवाइन
हो आजको महान सभ्यताको
यस्ता कुनै लक्षण पूरा गर्न सकिन
त्यसैले साँच्चै म मान्छे हुन सकिन
– चितवन

