वैदिक सनातन धर्मावलम्बीले आज जनैपूर्णिमा पर्व मनाउँदै



काठमाडौं,१२ साउन । वैदिक सनातन धर्मावलम्बीले आज जनैपूर्णिमा पर्व मनाउँदैछन्। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा बिहानैदेखि नदी, ताल, तलाउ तथा कुण्डमा स्नान गरी नयाँ जनै (यज्ञोपवीत) धारण गर्ने तथा गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा छ।

जनैपूर्णिमाका अवसरमा तागाधारी समुदायले विधिपूर्वक मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गर्छन्। गुरु–पुरोहितले मन्त्र उच्चारण गरी यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँधिदिने प्रचलन छ। धार्मिक मान्यताअनुसार मन्त्रिएको रक्षासूत्रले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्छ।

आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्यलगायत तागाधारीले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने विधान छ। जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ। यस दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा तथा तर्पण गर्ने परम्परा छ।

पूर्णिमाका दिन बिहान स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरेपछि वैदिक विधिअनुसार मन्त्रिएको नयाँ जनै धारण गरिन्छ। वैदिक परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोसमेत मानिन्छ।

जनै तथा रक्षासूत्र धारण गर्न बिहानैदेखि काठमाडौं उपत्यकाका पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, बागमती नदी किनारलगायत देशभरका मठमन्दिर तथा धार्मिकस्थलमा भक्तजनको भीड लाग्ने गर्छ।

क्वाँटी खाने परम्परा

जनैपूर्णिमाका दिन एघार थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ। विभिन्न गेडागुडी भिजाएर टुसा उमारेर तयार पारिने क्वाँटी वर्षायाममा शरीरलाई न्यानो राख्न र स्वास्थ्यका लागि उपयोगी हुने परम्परागत मान्यता छ।

आयुर्वेदमा समेत विभिन्न गेडागुडीबाट तयार हुने क्वाँटीलाई पोषणयुक्त परिकारका रूपमा लिइन्छ। यसमा प्रोटिन, फाइबरलगायत पोषक तत्व पाइने भएकाले सन्तुलित आहारका रूपमा प्रयोग गर्ने गरिन्छ।

तराईमा राखी बाँध्ने चलन

तराई क्षेत्रमा जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने परम्परा छ। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र पारिवारिक सम्बन्धलाई थप बलियो बनाउने सामाजिक मान्यता छ। पछिल्लो समय राखी बाँध्ने परम्परा पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ।

धार्मिकस्थलमा मेला

जनैपूर्णिमाका अवसरमा देशका विभिन्न धार्मिक तथा प्राकृतिकस्थलमा मेला लाग्ने गर्छ। काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधाम, धनुषसागर, गंगासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायतका स्थानमा बिहानैदेखि भक्तजनको चहलपहल हुने गर्छ।

विशेषगरी गोसाइँकुण्डमा स्नान तथा पूजाआजाका लागि देशका विभिन्न स्थानबाट तीर्थयात्री पुग्ने गर्छन्। जनैपूर्णिमा धार्मिक आस्था, वैदिक संस्कार तथा पारिवारिक आत्मीयताको संगमका रूपमा मनाइँदै आएको पर्व हो।

प्रतिक्रिया दिनुहोस्