बागमतीको मुख्यमन्त्रीमा थापा मगरलाई समर्थन गरिएको कुराप्रति राप्रपाको आपत्ति, मान्यता नदिन आग्रह गर्दै महामन्त्री गुरुङले लेखे प्रदेश प्रमुखलाई पत्र
हेटौंडा,३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत आफ्ना प्रदेशसभा सदस्यहरूले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरेको भनी बुझाइएको पत्रप्रति आपत्ति जनाएको छ।

राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष पत्र पठाउँदै पार्टीको सहमतिबिना बुझाइएको उक्त पत्रलाई मान्यता नदिन आग्रह गरेका हुन्।
गुरुङका अनुसार २०८३ साउन २० गते बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको थियो। प्रदेश सरकारका सम्बन्धमा पार्टीले निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएमा पार्टीको वृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई दिइएको पनि उनले बताएका छन्।
त्यसैगरी, बागमती प्रदेशसभामा सरकार निर्माणका सम्बन्धमा हुने मतदान तथा समर्थन प्रक्रियामा अर्को निर्देशन प्राप्त नभएसम्म तटस्थ रहन पार्टीले २०८३ भदौ १ गते संसदीय दलका नेतालाई निर्देशन दिएको गुरुङको पत्रमा उल्लेख छ।
तर पार्टीको कुनै निर्णय वा निर्देशनबिना बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाका प्रदेशसभा सदस्यहरूको समर्थन रहेको भनी प्रदेश प्रमुखसमक्ष पत्र बुझाइएको भन्दै राप्रपाले त्यसप्रति असहमति जनाएको हो।
राप्रपाले उक्त पत्र पार्टीको आधिकारिक निर्णय नभएको स्पष्ट गर्दै प्रदेश सरकार गठनको प्रक्रियामा त्यसलाई आधार नबनाउन प्रदेश प्रमुखलाई आग्रह गरेको छ। पत्रमा पार्टीको निर्णयविपरीत भएको कुनै पनि समर्थनलाई राप्रपाको आधिकारिक सहमति वा निर्णयका रूपमा नबुझ्नसमेत अनुरोध गरिएको छ।

