प्राईम बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि
काठमाडौं,२९ साउन । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

गत असार मसान्तसम्म बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब २० करोड रुपैयाँको तुलनामा २८ दशमलव ४९ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी, शुल्क तथा कमिशन आम्दानी र सञ्चालन मुनाफामा आएको वृद्धिले बैंकको नाफा बढ्न मद्दत गरेको देखिएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३ दशमलव ३० प्रतिशतले बढेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी १५ दशमलव ०५ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ५ दशमलव ८२ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २६ दशमलव ९४ प्रतिशतले उकालो लागेको छ। साथै, कर्जा नोक्सानी व्यवस्था खर्च २ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सुधारिएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १९ रुपैयाँ ६३ पैसा पुगेको छ।
असार मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा कायम भएको छ भने मूल्य–आम्दानी अनुपात १२ दशमलव २२ गुणा रहेको छ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ १० पैसा पुगेको छ।
२० अर्ब ९५ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष गत आर्थिक वर्ष १८ दशमलव ७६ प्रतिशतले बढेको छ । सोही अवधिमा निक्षेप ५ दशमलव ४६ प्रतिशत र कर्जा तथा सापटी ८ दशमलव २९ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ ।
विश्लेषकहरूका अनुसार सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानीमा आएको सुधारसँगै कर्जा नोक्सानी व्यवस्था खर्च घटेकाले बैंकको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा थप बलियो बनेको संकेत देखिएको छ।

