नेपाली जनसम्पर्क समिति अमेरिका (NPRCA) को युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत निर्विरोध
काठमाडौं,४ भदौ ।नेपाली जनसम्पर्क समिति अमेरिका (NPRCA) को युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत निर्विरोध निर्वाचित भएका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाको हालै सम्पन्न तेस्रो अधिवेशनबाट सभापतिमा मुनिन्द्र नेम्वाङको नेतृत्वमा नयाँ समिति निर्बाचित गरेको थियो । सोही समितिको युवा मामिला उपसभापतिमा बस्नेत निर्विरोध निर्वाचित गरिनुलाई अमेरिकामा रहेका नेपाली युवालाई नेतृत्वको मूलधारमा जोड्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
बस्नेत नेपालमा रहँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विभिन्न जिम्मेवारी सम्हाल्दै एक दशकभन्दा बढी समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका रहेका थिए । विद्यार्थी राजनीतिमा सक्रिय रहँदा संगठन विस्तार, युवा परिचालन र सामाजिक अभियानमा काम गरेका बस्नेत अमेरिका आएपछि पनि गैरआवासीय नेपाली संघ (NRNA) लगायत विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा सक्रिय रहँदै आएका छन्।
नेपाली जनसम्पर्क समिति अमेरिका (NPRCA) को युवा मामिला उपसभापतिमा निर्वाचित भएसंगै बस्नेतले अमेरिकामा रहेका नेपाली युवालाई नेपाली जनसम्पर्क समिति तथा नेपाली समुदायसँग अझ नजिकबाट जोड्ने अभियानलाई प्राथमिकता दिने बताएका छन्।
बस्नेतले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने नेपाली जनसम्पर्क समिति अमेरिकाका सम्पूर्ण प्रतिनिधि, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

