देशभर बाढी पहिरोका कारण ६ जनाको मृत्यु, २७ बेपत्ता



काठमाडौं, ३ असार । मनसुन सुरु भएसँगै देशभर बाढी पहिरोका कारण ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् ।

मंगलबार रातिदेखि बुधबार साँझसम्म देशमा विभिन्न स्थानमा बाढी पहिरो जाँदा ६ जनाको मृत्यु र २७ जना बेपत्ता भएका गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची बजारका दुई जना, कास्की, बाजुरा, पाल्पा र डोटी जिल्लाका एक-एक जना रहेका छन् । सिन्धुपाल्चोक, जाजरकोट, बाजुरा, गोरखा लगायतका जिल्लामा बेपत्ता भएका नागरिकको खोजी कार्य भइरहेको छ ।

बाढी र पहिरोमा परेका सिन्धुपाल्चोकका ६६ जना, कास्की, पाल्पा र स्याङ्जाका एक-एक जना गरी ६९ जनाको उद्धार गरिएको छ । विभिन्न जिल्लामा बाढी र पहिरोमा परी ८ जना घाइते भएका छन् । घाइतेहरूको सम्बन्धित अस्पतालमा उपचार भइरहेको छ ।

बाढीका कारण देशभरिमा १६५ घर डुबानमा परेका छन् । वर्षाका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।

बाढी पहिराेबाट ६२ घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायाको मृत्यु भएको छ । यसै गरी ५३ घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्