डा. बास्तोला भन्छन्- ‘कोभिडका बिरामीले अनावश्यक औषधि खाएर घरमै बस्नु खतरनाक’

काठमाडौं।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्ट्यान्ट तथा कोभिड फोकल पर्सन डा. अनुप बास्तोलाले कोरोना बिरुद्ध खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्ने बताएका छन्।

कोभिड निमोनिया भएको ६।७ दिनमा बिरामीलाई निकै गाह्रो पर्ने बताउंदै डा बास्तोलाले सामाजिक संजालमार्फत त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्ने भन्दै यो समय सबैले ध्यान दिनु जरुरी रहेको उल्लेख गरेका छन् । बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहने उनको भनाई छ।
संक्रमितको संख्या विगत तीन हप्ताको तुलनामा केही कम र स्थिर भए पनि जोखिम अझै कायम रहेको उल्लेख गर्दै उनले बिरामी बढ्दा एकैदिन इमर्जेन्सीमा पाँच जनाकोसम्म मृत्यृ भएको भन्दै अब अवस्था केही सहज हुँदै गएको उनको बुझाई छ।तर जोखिम र संक्रमणको क्रम काठमाडौं बाहिर पनि उत्तिकै रहेको भन्दै उनले सचेत रहन आग्रह गरेका छन् ।
‘दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने वाध्यताले गर्दा धेरैको ज्यान गुमायौं । त्यो, महामारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं । दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो ।
अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो’ बास्तोलाले सामाजिक संजालमा लेखेका छन्,- अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम र स्थिर छ । वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ ।
यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं ।
टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुग्यो । कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् । यसको अर्थ हो, अस्पतालको हालको क्षमताबराबर सिकिस्त बिरामी उपचाररत छन् ।
अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ । तर, अहिले काठमाडौैंबाहिर बाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ-गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ ।
दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने वाध्यताले गर्दा धेरैको ज्यान गुमायौं । त्यो, महामारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं ।
दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।
खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्छ । कोभिड निमोनिया भएको ६-७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ ।
बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । अब, स्वास्प्रस्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् ।
सम्भवत: दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने धैर्यता सायद नरहन सक्छ ।

