क्वारेन्टाइनमै झुन्डिएर युवकको मृत्यु
सांकेतिक तस्बिर, बझाङ ,१० असार । बझाङमा एक युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका–७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।

विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठे पछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष अक्कल धामीले जानकारी दिएका छन् ।
भारतबाट आएका युवक यही असार ६ गतेदेखि क्वारेन्टिनमा बसेका थिए । अध्यक्ष धामीका अनुसार युवक ८ गते बिहान कोठाभित्रै झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
मृतकको सोमबार नै अन्त्येष्टि गरिएको छ । स्थानीयवासी त्रसित भएकोले सुरक्षा व्यवस्था मिलाएर युवकको शवलाई गाडिएको अध्यक्ष धामीले बताएका छन् । मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ । भारतबाट फर्किएका उनको परिवारसँग भेट भएको थिएन ।