लिखुपिके : कांग्रेसको तालाबन्दीले गाउँपालिकाका काम अवरुद्ध



राजेन्द्र बस्नेत

सोलुखुम्बु,१ असार ।गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेतलाई हातपात र दुर्ब्यबहार गरेको आरोपमा पक्राउ परेका आफ्ना तीन कार्यकर्ता निशर्त रिहा गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस लिखुपिकेले आज पनि गाउँपालिकामा धर्ना दिएको छ।

नेपाली कांग्रेस लिखुपिकेका सभापति सुबर्ण बहादुर बस्नेतको नेतृत्वमा गाउँपालिकामा धर्ना दिइरहेका कांग्रेस कार्यकर्ताहरूले आइतबार पक्राउ परेका शुभराम बस्नेत, सरोज बस्नेत र उत्तम खड्का रिहा नभएसम्म गाउँपालिकाको काम ठप्प पार्ने बताएका हुन। अध्यक्ष बस्नेत र उपाध्यक्ष बस्नेतमाथि दुर्ब्यबहार गरेको आरोपमा आफ्ना तीन कार्यकर्ता पक्राउ परे लगत्तै सो पार्टीले गाउँपालिकामा तालाबन्दी गरेको थियो।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कार्वाही नगरुन्जेल आफुले पालिकामा लगाएको ताला नखोल्ने उसको अडान छ।उपभोक्ता समिति गठनको बिषयमा छलफल गर्न बोलाएर उपाध्यक्ष बस्नेत र अर्का नेता देब बस्नेतले कांग्रेस नेतृद्वय मिना बस्नेत र बुना बस्नेतमाथि हातपात गरेको आरोप पनि कांग्रेसले लगाएको छ।

लिखुपिके कांग्रेसले एक बिज्ञप्ति प्रकाशित गरी हातपातमा संलग्न दुबै जनालाई पक्राउ नगरी गाउँपालिकाको ताला खोलिए परिणाम नराम्रो हुने चेतावनी दिएको छ। सत्तारुढ नेकपा र बिपक्षी कांग्रेसबीचको यो द्वन्द्वले पालिकाको काम अबरुद्ध हुन पुगेको भन्दै स्थानीय आक्रोशित बनेका छन।

दुई दलबीचको यो बिबाद लम्बिदैं जांदा सेवाग्राहीहरुमात्रै मारमा परेका होइनन आव २०७७र७८ को बजेटका लागि चरणबद्ध रुपमा हुनुपर्ने छलफल नहुने र समयमा बजेट आउने सम्भावना पनि न्यून बन्दै गएको छ। शक्ति प्रदर्शनले विवाद समाधान नहुने भएकोले वार्ताबाट समाधान खोज्न स्थानीयले दुवै पक्षलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्