साझा यातायातसँग सहकार्य गरेर उपत्यकाका नौ स्थानीय तह रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारीमा



काठमाडौँ, ४ असोज । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व बहन गर्नेगरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् ।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्यसहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका तथा बुढानिलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुने । साझा यातायातका तर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् । साझा यातायातको कार्यालयमा आयोजना गरिएको समारोहमा हस्ताक्षर गरिएको हो । त्यसलगत्तै छ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो ।

समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताइन् । उनले भनिन्, “परीक्षण कालमा अभ्यास गरिएको दुई वटा रुटमा चार वटा थपेका छौँ । सात वडा गाडीलाई ३० वटा पुर्‍याएका छौँ । चार वटा नगरपालिकाको सहकार्यमा नौ वटा पुगेका छौँ । यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ । अब यो सेवा रोकिँदैन । निरन्तर र दिगो रूपमा चल्छ ।”

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, “उपत्यकाबासीको यातायात सहजताका लागि सङ्घ सरकारबाट मेट्रो सञ्चालन गर्ने विषयमा योजना ल्याउनुपर्ने थियो । त्यो अहिले आएको देखिएन । मेट्रो नभएपछि बीआरटी ९बस र्‍यापिड ट्रान्जिट० हुनुपथ्र्यो । त्यसको पनि केही सङ्केत छैन । सङ्घीय सरकारबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन । यसकारण स्थानीयस्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ । यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।”

सर्वसाधारणले रातको समयमा सुरक्षित आवतजावत गर्ने एउटा भरपर्दो सेवा सुरु भएको बताउँदै उनले यो नागरिकसँग जोडिएको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गरे ।

साझाका अध्यक्ष प्याकुरेलले भने, “साझाले स्थानीय तहलाई अभिभावक बनाउन पाउनु हाम्रो इतिहासका लागि पनि ठूलो उपलब्धि हो ।” विस्तारित सेवाअन्तर्गत जगाती(सूर्यविनायक हुँदै ठमेलसम्म छ, साबिक लगनखेल(बुढानिलकण्ठलाई विस्तार गरी गोदावरीसम्म छ, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा आठ, कीर्तिपुर(जमलमा चार, टाखेल(ठमेलमा दुई तथा साबिक नागढुङ्गा(एयरपोर्ट रुटमा चार वटा बस सञ्चालन गरिनेछ ।

यसअघि लगनखेलबाट बुढानीलकण्ठ तथा नागढुङ्गाबाट एयरपोर्टसम्म राति ८ः०० बजेदेखि ११ः०० बजेसम्म सात वटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो । सेवाको प्रभाव तथा मूल्याङ्कन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठूलो विषय भएको निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्