भरत दाहाल पक्राउप्रति त्रिमूल नेपालको आपत्ति,राज्य ‘फासीवादतर्फ उन्मुख भइरहेको’ आरोप

काठमाडौं,४असोज । राजनीति विश्लेषक,चिन्तक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको घटना खेदजनक भएको भन्दै त्रिमूल नेपाल केन्द्रीय समितिले आपत्ति जनाएको छ।

दाहाल पक्राउ प्रकरणले वर्तमान शासन व्यवस्थाको चरित्रमाथि प्रश्न उठाएको उल्लेख गर्दै त्रिमूल नेपालका प्रवक्ता मदन चुडालले आइतबार जारी गरेको प्रेस वक्तव्यमा वर्तमान सत्ताको कदमले राज्य ‘फासीवादतर्फ उन्मुख भइरहेको’ आशंका पैदा भएको दाबी गरिएको छ । दाहालको पक्राउलगायत घटनाको सशक्त विरोध गर्न आह्वान गर्दै वक्तव्यमा देशलाई केन्द्रमा राख्दै देशभक्त शक्तिहरूबीच राष्ट्रिय एकता आवश्यक रहेकोमा पनि जोड दिइएको छ।
त्रिमूल नेपालले सत्ता र शासन व्यवस्थाका त्रुटिविरुद्ध निरन्तर प्रतिपक्षी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै बक्तब्यमा भनिएको छ – ‘सत्ता र शासन व्यवस्थाका त्रुटीहरू विरुद्ध निरन्तर र सशक्त रूपमा प्रतिपक्षी भूमिका निर्वाह गर्दै आउनुभएका दाहाल माथिको यो धरपकड हालको कथित लोकतान्त्रिक गणतन्त्रको वास्तविक चरित्र उजागर गर्ने घटना हो। विगतका कुनै पनि सत्ताले यस्तो स्वेच्छाचारी हर्कत गरेका थिएनन्, तर भदौ २३ र २४ को घटनापश्चात शक्तिमा आएका तत्वहरूले राज्य संयन्त्रलाई पूर्ण रूपमा दुरुपयोग गरिरहेका छन ।’
असोज २ गते साथीभाइ तथा सहकर्मीसँग राजनीतिक छलफलका लागि पूर्वतर्फ गएका दाहाललाई आइतबार बिहान मोरङको बेलबारी प्रहरीले सुन्दरहरैँचा–सलकपुरबाट पक्राउ गरेको थियो ।


