प्रधानमन्त्रीको सचिवालयबाट एक जनाको गयो जागीर, तीन जनाको घटुवा


यसअघि प्रेस तथा अनुसन्धान विज्ञमा नियुक्त भएकी दीपा दाहाललाई अब मिडिया व्यवस्थापन संयोजकको जिम्मेवारी दिइएको छ। यसैगरी, इन्जिनियर सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक बनाइएको छ।
त्यस्तै, विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक बनाइएको छ। उनीहरू सबैले विज्ञको रुपमा प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति लिएका थिए। तर, आइतबारदेखि उनीहरूलाई संयोजक र सहसंयोजक बनाइएको छ। यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा पनि जानकारी राखिएको छ।
प्रधानमन्त्री शाहले नै जिम्मेवारी हेरफेर र सेवाबाट हटाउन निर्देशन दिएको प्रधानमन्त्रीको सल्लाहकार टिमका एक सदस्यले बताए।विज्ञबाट हटाइए पनि उनीहरूको पहिला जे जिम्मेवारी थियो, त्यही राखिएको देखिन्छ। त्यस्तै, शाहका स्वकीय सचिव र पाँच सल्लाहकार भने यथावत् छन्। जसमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदिशप्रसाद अग्रवाल, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन्। यस्तै, प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नविन भण्डारी पनि यथावत् जिम्मेवारीमै छन्।


