७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेस अधिवेशन सम्पन्न



काठमाडौं,४ असोज! नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत हालसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा जनाईए अनुसार असोज ४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भएको छ।

त्यस्तै धनुषा,महोत्तरी, सर्लाही, रौतहट,बारा,पर्सा,दोलखा,रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर,रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीका विभिन्न वडामा पनि अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

समितिका अनुसार हालसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भइसकेको जानकारी गराइएको छ। वडा अधिवेशनसँगै वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको छ।

रसुवा,नुवाकोट र धादिङ जिल्लाका साथै सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं.६,रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र पर्सा क्षेत्र नं. २ लगायतका क्षेत्रमा बाँकी रहेका वडा अधिवेशन तथा छुटेका अन्य वडाको अधिवेशन असोज ५ गते सोमबारसम्म निरन्तर सञ्चालन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने कार्यतालिका रहेको छ। वडा तहबाट सुरु भएको अधिवेशन प्रक्रिया क्रमशः माथिल्ला तहमा अघि बढाइने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्