शरद् ऋतुमा हिमाल आरोहणका लागि ५५ समूहका ५७९ जनाले लिए अनुमति
काठमाडौँ,४ असोज । सन् २०२६ को शरद् ऋतुमा हिमाल आरोहणका लागि ५५ समूहका ५७९ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म विभिन्न ११ वटा हिमाल आरोहण गर्न ४३२ पुरुष र १४७ महिला आरोहीले अनुमति लिएका हुन् ।

विभागका निर्देशक निशा थापा राउतले यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणका नेपालसहित ६७ देशका ५७९ जनाले आरोहण अनुमति लिएको बताउनुभयो । “अनुमति लिनेमा सबैभन्दा बढी चीनबाट र सबैभन्दा बढी मनासलुमा आरोहण अनुमति जारी भएको छ,” उहाँले भन्नुभयो । आरोहण अनुमतिबापत २३ करोड ५१ लाख ८३ हजार २३२ रुपियाँ हिमाली दस्तुर (राजस्व) सङ्कलन भएको छ ।
राउतका अनुसार शरद् ऋतुमा मनासलु आरोहणका लागि ४१ समूहका ३६६ पुरुष र १२७ महिला आरोहीले अनुमति लिएका छन् । जसबापत २२ करोड ४८ लाख १४ हजार १८९ रुपियाँ राजस्व सङ्कलन भएको छ । धवलागिरि पहिलो आरोहण गर्न अनुमति दिएबापत ७७ लाख ८२ हजार ४५० रुपियाँ, मकालु पहिलोबाट छ लाख ८८ हजार ५० रुपियाँ, डाङ्गा हिमालबाट ७६ हजार ५२८ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै गरी गङ्गापूर्ण पश्चिमबाट एक लाख २१ हजार ३६०, थोराङ पिकबाट एक लाख ८६ हजार ४४५, नोर्बु खाङबाट ५३ हजार २७०, अन्नपूर्ण चौथोबाट तीन लाख छ हजार दुई सय, चाम्लाङबाट तीन लाख ६६ हजार २४०, वरुणत्सेबाट छ लाख १२ हजार र लमजुङ हिमाल आरोहण गर्न दिएको अनुमतिबाट ७६ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।
विभागका अनुसार शरद् ऋतुमा हिमाल आरोहण गर्न सबैभन्दा बढी चीनबाट ११७, रसियाबाट ५३, फ्रान्सबाट ४१, अमेरिकाबाट ३९ र बेलायतबाट २८ जनाले अनुमति लिएका छन् ।


