कृषि मन्त्री चौधरीसँग पाकिस्तानी राजदूत खानले गरे शिष्टाचार भेट,विपद् पुनर्निर्माणदेखि चिया निर्यातका बिषयमा समेत छलफल



काठमाडौं,४ असोज । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र
नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन,हिमाली क्षेत्रका मुद्दा,विपद् जोखिम न्यूनीकरण,पूर्वसूचना प्रणाली,हिमनदी अनुगमन,कृषि तथा विपद्पछिको पुनर्निर्माणलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा छलफल भएको छ।

मन्त्री चौधरी र राजदूत खानबीच शनिबार सम्पन्न शिष्टाचार भेटवार्ताका क्रममा सो छलफल भएको मन्त्रालयले जनाएको छ ।भेटमा मन्त्री चौधरीले नेपाल र पाकिस्तान दुवै हिमाली मुलुक भएकाले जलवायु परिवर्तन, हिमनदी तथा विपद्का जोखिमबाट उत्पन्न साझा चुनौती सम्बोधन गर्न सूचना, तथ्यांक, प्रविधि तथा अनुभव आदानप्रदान आवश्यक रहेको बताइन्। उनले आगामी दिनमा कृषि लगायत सम्भावित अन्य क्षेत्रमा पनि दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा राखिन्।

राजदूत खानले नेपालमा हालै भएका विपद्पछि पाकिस्तान सरकार नेपालसँग व्यावहारिक र ठोस सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए। उनले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा दुवै देशबीच अनुभव, प्रविधि र सूचना आदानप्रदान गर्न सकिने धारणा व्यक्त गरे।

उनले विपद्पछिको पुनर्निर्माण तथा जलवायु अनुकूल प्रविधिका क्षेत्रमा पाकिस्तानले हासिल गरेको अनुभव नेपालसँग साझा गर्न तयार रहेको बताए। साथै, साझा हिमाली तथा जलवायु मुद्दालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन दुवै देशले सहकार्य गर्न सक्ने विषयमा पनि छलफल भएको थियो।

राजदूत खानले पाकिस्तानका प्रधानमन्त्रीले नेपालमा हालै भएको विपद्प्रति चासो व्यक्त गरेको जानकारी दिँदै विपद्पछिको पुनर्निर्माण तथा राहत–सहयोगमा पाकिस्तान सहकार्य गर्न तयार रहेको बताए।

भेटवार्तामा दुई देशबीच व्यापार तथा आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे समेत छलफल भएको थियो। विशेषगरी नेपालबाट पाकिस्तानमा चिया निर्यात गर्न सकिने सम्भावनालगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्