सरकारका प्रवक्तालाई एउटा खुल्ला पत्र
सुवाश जमरकट्टेल

श्रीमान् माननीय अर्थ, सुचना तथा
सञ्चार मन्त्री ज्यू
नेपाल सरकार
सिंहदरवार, काठमाडौं
विश्व मानव समुदाय यतिबेला कोरोना कष्टडीमा छ । मानव समुदायको अस्तित्तव नै संकटमा पार्ने गरी महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस संक्रमणलाई रोक्न तपाई सम्मिलित नेपाल सरकारले पनि देशलाई लकडाउन गरेको आज ३०औं दिन भई सकेको छ । देश लकडाउन हुनु भन्दा अगाडि चैत्र ५ गते देखि नै देश भित्र कुनैपनि सामाजिक तथा सार्वजनिक कार्यक्रमहरु जस्तै सभा, सम्मेलन, गोष्ठी र भोज भत्तेरहरु नगर्नु भनेर सरकारले गरेको निर्णय सरकारको प्रवक्ताको हैसियतले तपाई स्वयम्ले नेपाली जनतालाई सुनाउनु भएको हो । दैनिक ज्याला मजदुरी गरी पालिने अधिकांश नेपालीहरुको ज्याला मजदुरी चैत्र ५ गते देखि नै बन्द भएकोछ । बन्दा बन्दीका कारणले धेरै नेपालीहरुको चुल्होमा आगो बल्न छाडेकोछ । तर पनि नेपाली दाजु भाइ तथा दिदी बहिनीहरु अधिकांश अमेरिका, इटली र स्पेनको नरसंहारकारी महामारीलाई मनन् गरेर अहिले नेपाल सरकारले प्रशारण गरेकोे सूचना मानेर बसेका छौँ ।
नेपालीहरुले बढो हर्षोउल्लासका साथ मनाउने नयाँ वर्ष पनि घर भित्रै बसेर सामाजिक सञ्जालमा दुख सुख साटेर मनायौँ । पुरानो वर्षले पुराना रोग व्याधि र दुख कष्ट लैजाने र अब नयाँ वर्षले नयाँ हर्ष, उमंग र उत्साहको वातावरण ल्याउने कुरामा नेपालीहरु ढुक्क छौँ । तर नयाँ वर्षको बिहानीमा झुल्किएको सूर्य मध्यान्न ढल्कन नपाउँदै मिडियाहरुमा त्रासदिपूर्ण समाचार छ्याप छ्याप्ती आउन थाल्यो । सुरक्षित छ भनिएको उपत्यकाको एउटा गगनचुम्बी महलको १५ औं तलाबाट कोरोना उपत्यकाको दृष्यावलोकन गरी रहेको रहेछ । उक्त समाचारले सारा नेपालीहरुमा २०७२ को भुकम्पले भन्दा ठुलो झट्का र हलचल पैदा गरिदियो । सबैको मनमा डर, त्रास र मृत्युको भय जन्मियो । एक कान दुई कान मैदान हुदै नयाँ नयाँ समाचारहरु एक पछि अर्को गर्दै आउन लागे । नेपाली उखान जस्तै “बुढी मरी भन्दा पनि काल पल्कियोभन्ने डर भयो ।” नभन्दै ठिक त्यस्तै भयो । त्यस सनसिटी अपार्टमेण्टका २÷३ जनामा कोरोना पोजेटिभ देखियो भन्दा पनि अरु कति जनामा संक्रमण फैलियो होला भन्ने मुख्य डर भयो । कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आउने मान्छेहरुको पहिचान गर्दै गरेका सामाचार आउन थाले ।
समाचार कै क्रममा सारा देशवासी सरकारको घोषणा अर्थात लकडाउन पालन गरेर बसिरहेका बेला तपाई चाहिँ आफ्नो छोरालाई सनसिटी अपार्टमेन्ट उपभोक्ता समितिको चुनावमा बिजय गराउन लाग्नु भएको समाचार आयो । के यो सत्य हो त मन्त्री ज्यु ? यदि सत्य हो भने त्यसो गर्नु के नियम संगत हो त मन्त्री ज्यू ? कि सरकारका मन्त्री र आसेपासेलाई चाहिँ कानुनै लाग्दैन ? कि हामी सबैले भोट हालेर दुई तिहाइको कम्युष्टि सरकार बनाएर तपाईहरुलाई कानुन भन्दा माथि पठायौँ भन्ने लाग्छ तपाईलाई ? तपाई एक सामान्य हामी जस्तै नागरिक युवराज खतिवडा मात्र त हैन होला नि ? तपाई त नेपाल सरकारको अर्थ मन्त्री र सुचना तथा सञ्चार मन्त्री हो । यति मात्र हैन अझ तपाई त नेपाल सरकारको प्रवक्ता पनि हो । अनि तपाई कसरी कुन अनुहारले छोराको चुनावमा विजय गराउन वा उनलाई बधाई दिन वा भोज खान जान मिल्छ ?
उपत्यकाको एउटै भवनमा करिव ५०० परिवारका २५०० मान्छे बस्दै आएको अपार्टमेन्टमा कोरोना संक्रमित भेटिनाले देशै त्रसित र भयभित बनेको बेला तपाई पनि त्यस अपार्टमेन्टमा गएको समाचार बाहिर आयो । यता तपाईले म गएकै छैन भनेर मिडियामा भन्नु भयो । मिडियामा आउनु नै सबै कुरा त होइन तर आशंका गर्ने ठाँउ त बन्यो । तपाईले म आफु गएकै छैन भन्दै गर्दा यता मिडियाले तपाई फुर्तिसाथ आफ्नो दलबल सहित अपार्टमेन्टमा प्रवेश गरेको र बाहिरिएको दृष्य सिसि टिभी र अपार्टमेन्टका सुरक्षागार्डका कमाण्डर लोकेन्द्र केसीले रेकर्ड गरेको भिडियो फुटेज प्रशारण गरिदियो । त्यो दृष्य के हो ? कसैले तपाँईको बुख्याचा वा पुत्ला बनाएको हो या मनोज गजुरेलको अभिनय हो हामी जनता पनि स्पष्ट त हुनै प¥यो नि हैन ? जे होस हामी सबै नेपाली नागरिकलाई यो विषय संकाको घेरामा छ । छिमेकी मुलुक भारतमा कोरोना फैलाउने उदेश्यले थुक्दै हिड्ने कोरोना संक्रमित धर्मगुरु र गएको ठाउँमा म गएकै छैन भनेर भुक्दै हिड्ने तपाईमा के फरक बुझ्नु त हामी जसता जनताले । हिजो मन्त्री मण्डलमा हुदाँ बोलेकै कारण हैन शेर बहादुर तामाङ्ग र गोकुल बास्कोटाहरुले (नैतिकताका आधारमा) राजिनामा गरेको ? अनि आज सत्य कुरालाई हैन भन्न त तपाईको पनि नैतिकताले नदिनु पर्ने हैनर ? तर यि सब कुरा पानीको फोका झैं फुटेर विलिन भए ।
बृद्ध, रोगी, नियमित औषधी सेवन गर्ने, इम्युनिटि पावर कम्जोर भएकाहरुमा कोरोना संंक्रमण छिटो हुने भनिन्छ । हालको अवस्थामा भरखर मृगौला प्रत्यारोपन गर्नु भएका हाम्रा प्रधानमन्त्री भन्दा कम्जोर को होला र । सनसिटीको भेटघाट र बधाई कार्यक्रम पछि तपाई कति पटक प्रधानमन्त्री सहभागी भएको बैठकमा उपस्थित हुनु भयो । यदि तपाईमा भाइरस संक्रमण भएको रहेछ भने अरु कति जनामा संक्रमण गराउनु भयो होला । अवस्था भयानक छैन त ?
अरु देशमा सरकार र नेतृत्वमा बस्ने मानिसहरु देश र जनताको सुरक्षामा समर्पित हुने गर्दछन् । रातो दिन देश र जनताको चिन्तामा हुन्छन् । जर्मनीका अर्थमन्त्रीले कोरोनाका कारण देशको अर्थतन्त्र कम्जोर भयो भनेर आत्महत्या गरेको कुरा सर्बबिदितै छ । टर्कीका गृहमन्त्रीले लकडाउनको नियम जनतालाई पालना गराउन सकिएन भनेर राजिनामा दिएको पनि थाहै होला ? तर हाम्रो देशका स्वस्थ्यमन्त्री औषधी र पिपिई खरिदमा भ्रष्टाचार गरेको आशंकामा प्रधानमन्त्रीले ठेक्कै रद्घ गरेको समाचार आउँछ । अर्थमन्त्री कोरोना संक्रमित भएको स्थलमा गएको कुरा हैन भनेर पञ्छिनु हुन्छ । यो कस्तो विडम्वना हो नेपालीले भोग्नु परेको ?
चाहिने नचाहिने शीर्षकमा अर्बौ रकम फजुलमा खर्च हुन्छ भन्ने समाचार आउछ । नागरिलाई पनि एउटा ठुलो जिज्ञासा छ सरकारसंग । जस्तै अहिले भुमी आयोग गठन गरेर अर्बौ राज्यकोषमा ब्ययभार थप्ने बेला हो त ? एकातिर महामारीको निउमा राहात कोष खडा गरी सरकार चन्दा मागेर बस्ने अर्कातिर राज्यकोष लुट्न अनेक आयोग गठन गर्ने । यो कस्तो लाचारिपना अर्थात लापरबाही हो सरकारको ? कि यो सरकारको समृद्घिको आधार भनेकै जंगल फँडेर आफ्नालाई जंगल बाड्ने र कमिसन पड्काउने हो ? जनताले तिरेको चर्को कर तीन तहका जनप्रतिनिधि पाल्दै ठिक्कछ । सरकारले संकटको घडि हेरेर राहातको नाममा विज्ञापन गरेर चन्दा उठाउनु जायज होला तर त्यसको पारदर्सी खर्च गरेर जनतालाई राहत हुने गरी टेष्ट किट र औषधी ल्याएको खै त ?
तपाई कै प्रधानमन्त्रीको भाषामा भन्ने हो भने सरकारले कति बजाएको बेमौसमी बाजा ? पुस्तौ पुस्ता दुख गरेर खाई नखाई वचत गरेको पैसा र आजीवन थाप्लोमा ऋणको भारी बोकेर टाउको लुकाउने सानो घर बनाएको एउटा घरधनीलाई भाडा लिए कार्बाही गर्ने भनेर किन कुर्लनु ? आफुले छाती माथि जाँतो जत्रो ऋणको भारी बोकेर छाप्रो बनाई घर विहीनलाई आश्रय दिने सेवकलाई किन र के को कार्बाही ? निजी घरको भाडा लिने दिने कुरा सरकारलाई के को चासो ? यो मन्त्रीमण्डललाई पार्दर्शी बनाउन जरुरी छ, प्रधानमन्त्रीले भनेझैँ करोडौं करोडको भ्रष्टाचार गर्ने काम विहिन लठिमुङ्घ्रे मन्त्रीहरुलाई हटाएर मन्त्री मण्डल र तिनीहरुको सचिवालयको खर्च कटाउन जरुरीछ । भ्रष्टचारको जड त्यो सांसद विकासकोष र अन्य त्यस्तै कोष तुरुन्त बन्द गर र त्यो कोष यथासिघ्र माहामारीको उपचारमा प्रयोग गर । जनता भोकले मर्न लागकोे समाचार त सुनेकै होलाउ त्यो मागेको राहातकोष यथासिघ्र परिचालन गर । घरभाडा तिर्न कोही असक्षम छन् भने त्यस्ता व्यक्तिको भाडा तिर्न त्यो राहातकोष प्रयोग गर । यो विपदका बेला उठाएको कोष विपदमा खर्च नगर्ने भए त्यसको के काम ? किन जम्मा गर्नें । सक्छौं सहयोग गर, सक्दैनौं चुपचाप बस । सरकारमा छौँ भनेर नागरिकहरुको निजी सम्पतिमा अधिकार जमाउने प्रयास नगर । विवादको खाडल खन्दै नखन । थाहै होला “आफुले खनेको खाडलमा आफैं परिन्छ” भन्ने नेपाली उखान ।
अन्त्यमा, देश अहिले संकटको घडिमा छ । हजारौं हजार नेपालीहरुको साहदत र बलिदानीले प्राप्त राज्य सत्ताको बागडोरमा अहिले तपाईहरु हुनुहुन्छ । अरु नेताले सम्हाल्न नसकेर तपाईहरुलाई टिका लगाएर मन्त्री मण्डलमा पठाएको हुदैँ होइन । अरु थुप्रै सक्षम र बुद्धिजीविहरु नेता, नेतृत्व र कार्यकर्ता हुँदा हुँदै तपाईलाई ल्याउनु भनेको तपाईमा केहि उच्च कार्यगत क्षमता र अनुभव छ भनेर हो । तर तपाई आफ्नो क्षमता, दक्षता र पदीय जिम्मेवारी बहन गर्नु पर्नेमा बेमौसमी बाजा बजाउदैं हिड्नु हुन्छ भने हरी पराजुली, कृष्ण महरा, विजयकुमार गच्छदार झैैं पतनको बाटोमा पुग्नु हुनेछ भन्ने कुरामा दुई मत नहोला । आफ्नो बौद्धिकताको प्रयोग गरी आर्थिक नीति तयार गर्नु होला, प्रधानमन्त्रीले भने जस्तो ८० करोड बराबरको राहात वितरण ग¥यौं भनेर भोका जनतामा भ्रम छर्ने काम नगर्नु होला । नेपालमा पछिल्लो चरणामा देखिएको कोरोना संक्रमितको संख्या ४२ पुगेसँगै सारा नेपालीमा त्रासको ढ्याङ्रो बजिरहेको छ । थप अरु कोहि नेपालीमा कोरोना पोजेटिभ नदेखियोस् भन्ने कामना गर्दछु । नमस्कार । धन्यवाद ।
लेखक :– अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय सचिव हुनुहुन्छ ।