नवरात्र तथा दसैँका नियमित धार्मिक कर्म शुक्र वा बृहस्पति अस्त भएका कारण नरोकिने



काठमाडौं,३० असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएका कारण दसैँ मनाउन नहुने भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचार शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ। समितिले शारदीय नवरात्र तथा दसैँका नियमित धार्मिक कर्म शुक्र वा बृहस्पति अस्त भएका कारण नरोकिने जनाएको हो।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार शारदीय नवरात्र प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म हो। त्यसैले शुक्र वा बृहस्पति अस्त भएको अवस्थामा पनि दसैँका नियमित धार्मिक विधि गर्न कुनै बाधा नपर्ने उनले स्पष्ट पारेका छन्।

शुक्र र बृहस्पति अस्त भएका बेला नित्य तथा नैमित्तिक कर्म गर्न शास्त्रीय रूपमा रोक नलगाइएको समितिको भनाइ छ। यद्यपि, कुनै विशेष कामना राखेर गरिने काम्य कर्मका हकमा भने यस्ता अवस्थामा बन्देज रहने शास्त्रीय मान्यता रहेको समितिले जनाएको छ।

सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाका आधारमा धार्मिक कार्यबारे भ्रममा नपर्न समितिले सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता विषयमा अन्योल भए धर्मशास्त्रका जानकार, धर्मशास्त्रविद् तथा समितिका पदाधिकारीसँग परामर्श गरेर मात्र निष्कर्षमा पुग्न पनि समितिले अनुरोध गरेको छ।

समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार यही असोज २८ गते बुधबार दिउँसो १ बजेर ४० मिनेटमा पश्चिम दिशामा अस्त भएका शुक्र आगामी कात्तिक ११ गते बुधबार मध्यराति १२ बजेर ४९ मिनेटमा उदय हुनेछन्।

शुक्र अस्तको विषयलाई लिएर दसैँका धार्मिक विधि रोक्नुपर्ने भन्ने प्रचारप्रति स्पष्ट पार्दै समितिले परम्पराअनुसार गरिने नियमित दसैँका कर्म सञ्चालन गर्न सकिने जनाएको हो।

प्रतिक्रिया दिनुहोस्