देशभक्तिको भावना बलियो बनाउँदै मुलुकको समृद्धिका लागि एकजुट हुन सम्पूर्ण नेपालीलाई पूर्बराजा ज्ञानेन्द्रको आग्रह



काठमाडौं,३० असोज । राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता,सामाजिक सद्भाव र देशभक्तिको भावना बलियो बनाउँदै मुलुकको समृद्धिका लागि एकजुट हुन नेपालीलाई आग्रह गरेका छन्। विजयादशमी २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्राकृतिक विपत्ति,राजनीतिक अस्थिरता र विभिन्न सामाजिक चुनौतीबीच राष्ट्रिय स्वाभिमान तथा मौलिक परम्पराको संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन्।

सन्देशमा उनले नेपाली समाजको सनातनी परम्परा र संस्कृतिअनुसार सत्य, सदाचार तथा मर्यादालाई आत्मसात् गर्दै दशैं मनाउन सबैमा शुभकामना व्यक्त गरेका छन्। कठिन परिस्थितिका बाबजुद नेपालीले आफ्नो चाडपर्व, धर्म, संस्कृति र रीतिरिवाजलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उनले यसले राष्ट्रिय पहिचानलाई जीवन्त राख्न मद्दत गर्ने बताएका छन्।

पछिल्लो समय बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण विभिन्न क्षेत्रका नागरिकले भोग्नुपरेको दुःखप्रति उनले संवेदनशीलता व्यक्त गरेका छन्। विपत्तिबाट प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले यस कार्यमा स्थानीय परम्परा र मौलिक पहिचानको संरक्षणसमेत आवश्यक रहेको बताएका छन्।

नेपालको पहिचान भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै राजा ज्ञानेन्द्रले यहाँको साझा इतिहास, आस्था, संस्कृति, परम्परा र विविधतालाई राष्ट्रिय एकताको आधारका रूपमा व्याख्या गरेका छन्। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

उनले नेपालको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीप्रति पनि ध्यानाकर्षण गराएका छन्। राज्य प्रणालीलाई प्रभावकारी बनाउँदै जनआकाङ्क्षा सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले देशको वर्तमान अवस्थाबाट बाहिर निस्कन सत्य, न्याय, नैतिकता र राष्ट्रिय हितमा आधारित मार्ग अवलम्बन गर्नुपर्ने सन्देश दिएका छन् ।

नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले विभाजित नभई एकताबद्ध नेपाल निर्माणमा सबैको योगदान आवश्यक रहेको बताएका छन् । विजयादशमीको अवसरमा शक्ति र विजयकी प्रतीक देवी दुर्गाको आराधनाले सबैलाई सत्य, न्याय र शक्तिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्